INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ ।

सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अभिलेखीकरण गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।

Year Book 2025 Review Khotang 20241121 (1)
जिल्लामा सन् २०२४ को ११ महिनाको अवधिमा ७६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक खोटाङ प्रतिनिधिले महिलाविरूद्ध हुने भेदभाव, दुव्र्यवहार, बलात्कार, बलात्कारको प्रयास र यौन दुव्र्यवहारका ३० ओटा, अभद्र व्यवहारका २० ओटा, घरेलु हिंसाका २६ ओटा घटना भएको जानकारी दिनुभयो । सार्वजनिक प्रतिवेदनमा जिल्ला अस्पतालमा शव वाहन गाडी नभएको, जिल्ला कारागारमा सवारी साधन र स्वच्छ खानेपानीकोे अभाव रहेको, महिला हत्याका आरोपित ८ वर्षमा पनि पत्ता नलागेको उल्लेख छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सेफ हाउस सञ्चालनमा ल्याउन इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

Year Book 2025 Review Khotang 20241121 (2)
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपेश बस्नेतले पीडितको न्यायका लागि इन्सेकले गरिरहेको पहलमा अन्य सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनु भयो ।

यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी न्यायिक समितिकी सदस्य रेखा राईले इन्सेकको जस्तै नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको सार्वजनिकिकरण गर्न पहल गर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्रीले शव वाहन नहुँदाको पीडाले खोटाङलाई अझ गरिब बनाएको बताउनु भयो । उहाँले इन्सेकको वार्षिक समीक्षाले जिल्लाको मानव अधिकारको अवस्थाबारे बुझ्ने अवसर दिएको बताउनु भयो ।

महिला एकता अध्ययन केन्द्रकी प्रतिनिधि कमला घिमिरेले हिंसामा परेको अवस्थामा पीडित महिलाले आर्थिक सहयोग समेत पाएको भन्दै इन्सेकको थप सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा अपाङ्ग सेवा संघका अध्यक्ष उमेशचन्द्र आचार्यले सरकारी भवनहरू अपाङ्गतामैत्री बनाउन इन्सेकले पहल गनुपर्ने माग गर्नुभयो । खोटाङ दलित विकास मञ्चका पर्शुराम विश्वकर्माले दलित समुदायमा जनचेतनामूलक कार्यक्रम गर्न इन्सेकसँग आग्रह गर्नुभयो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपलिकाकी महिला शाखा प्रमुख इरान राईले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको इन्सेकसँग समन्वय गरेर कार्यक्रम गर्ने विश्वास दिलाउनु भयो ।

गैससहरूलाई स्थानीय तहले भूमिका दिनुपर्ने भन्नुहुँदै गैसस महासघका सदस्य सुवास आचार्यले स्थानीय तहसँग कार्यक्रम माग गरेर इन्सेकले सबै स्थानमा मानव अधिकारबारे सचेतना जगाउनु पर्ने बताउनु भयो ।

वास नेपालका सदस्य कोपिला बाँस्तोलाले न्यूनतम ज्यालामा काम गरिरहेका अतिरिक्त हुलाकका कर्मचारीको उचित तलबको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, विभिन्न संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीको सहभागिता थियो ।

अन्य

भिडियो