अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा मङ्सिर २८ गते सम्पन्न गरेको छ ।

इन्सेक मुगुले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी सभापति खडकबहादुर शाहीले मानव अधिकार वर्षपुस्तकमा प्रकाशन हुने यो वर्षमा सबै घटना सत्यतथ्य भएपनि खाद्य अधिकारले त्यति प्राथमिकता नपाएको बताउँदै अबका दिनमा खाद्य अधिकारलाई पनि प्रथामिकता दिनु पर्ने सुझाव दिए ।
नेकपा एमालेका पार्ट अध्यक्ष धर्मबहादुर शाहीले इन्सेकले प्रकाशन गर्ने वर्षपुस्तक पीडितहरूका लागि एक गतिलो दस्तावेज भएकाले विशेष गरी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना शहरबजारमा भन्दा ग्रामीण भेगमा बढी हुने भएकाले र ग्रामीण भेगमा राज्यको पहुँचसमेत नपुग्ने भएकाले इन्सेकले ग्रामीण भेगका घटनालाई प्रथामिकता दिनु पर्ने बताए ।
इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि अभिलेख गरिएका १८ ओटा घटना माथि समीक्षा गरेको थियो ।
पत्रकार नृपेन्द्र मल्लले अधिकारका घटनाहरूमा शिक्षा र स्वास्थ्यका घटनामा सबैभन्दा बढी प्रथामिकता दिएर सङ्कलन गर्नु पर्ने सुझाव दिए । अर्का पत्रकार विनोद मल्लले सफा र स्वच्छ पानी सर्वसाधरणले खान नपाएका बेला खाने पानीसँग सम्बन्धित घटना पनि सङ्कलन गर्न सुझाव दिँदै सुशासनका विषयमा पनि घटना सङ्कलन गरिनु पर्ने बताए ।
इन्सेक मुगु जिल्ला प्रतिनिधि जीबन सेजुवालद्वारा प्रस्तुत घटनामध्ये राजनीतिक अधिकारका तीन, जातीय विभेदकौ एक, खाद्य अधिकारसम्बन्धी एक, स्वास्थ्य अधिकारसम्बन्धी एक, बालअधिकारका तीन, महिला अधिकारसम्बन्धी दुई र बलात्कारका सात ओटा लगायतका छन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज