पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मलादेवी साउदले गाउँपालिकालाई मानव अधिकारमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा मङसिर ४ गते डोटीको पुर्वीचौकीमा आयोजित परियोजना परिचय तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उहाँले सो प्रतिबद्वता जाहेर गर्नुभएको हो ।
उपाध्यक्ष साउदले अहिले पनि सामाजमा घरेलु हिंसा, लैङ्गिक विभेद, जातीय विभेद तथा विभिन्न प्रकारका कुरीति तथा कुसंस्कारहरू रहेको बताउँदै गाउँपालिकाले आगामी दिनमा यस प्रकारका विभेद र कुरीतिहरूको अन्त्यका लागि इन्सेकसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘गाउँपालिकामा निर्माण गरिएको मानव अधिकार समूहले समाजमा भएका मानव अधिकारका सावालहरूको पहिचान गरोस् । हामी ति समस्या वा सवालहरूलाई समाधान गर्न तयार छौँ ।’
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन र नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको प्रत्याभूति गराउन परियोजना सञ्चालन गरेको बताउनुभयो ।
पुर्वीचौकी गाउँपालिका–३ का वडा अध्यक्ष अम्मर चयडाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नागरिकको आधारभुत अधिकार भएको बताउँदे इन्सेकले सञ्चालन गरेको कार्यक्रमले गाउँपालिकालाई मानव अधिकारमैत्री गाउँपालिका बनाउने अपेक्षा गरिएको बताउनुभयो ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत गाउँपालिकाका सात ओटै वडाको प्रतिनिधित्व रहने गरी वीरेन्द्र उपाध्ययको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।



