INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसँग सम्बन्धित घटनाका सम्बन्धमा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्को आयोजनामा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा जिल्लाको मानव अधिकार अवस्थाका विषयमा इन्सेक प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम पुस १५ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले जिल्ला प्रतिनिधिहरूले घटनाको सङ्कलन र अभिलेखिकरण मात्र नभएर पीडितलाई न्यायिक प्रक्रियामा सहयोग गर्नु पनि आफ्नो दायित्व रहेकोले यसमा जोड दिनु पर्ने बताउनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्दप्रसाद त्रिपाठीले वर्ष पुस्तकले नेपालको मानव अधिकारको अवस्था चित्रण गर्ने भएकाले निर्देशिकाले समेट्ने सबै किसिमका घटनाको अध्यावधिक विवरण राख्न आग्रह गर्नु भयो ।

इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखन कार्य चुनौतिपूर्ण रहेको बताउनु भयो ।

पीडितको न्याय र आरोपितलाई कानुनी सजायका लागि अधिकारकर्मीले पैरवी गर्नु पर्ने भएकाले सुरक्षा चुनाैति पनि हुन सक्ने भएकाले सचेततापूर्वक काम गर्नु पर्ने सम्पादक तिमल्सिनाको भनाइ छ । उहाँले सङ्कलित घटनाहरूको बारेमा आफू प्रष्ट हुनुपर्ने बताउँदै घटनाको बारेमा विस्तृत विवरण अभिलेख गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले जिल्लामा काम गर्दा भएका चुनौतिलाई समाधान गर्न अनुभव आदानप्रदानले सहयोग पुर्‍याउने बताउनु भयो ।

कार्यक्रममा उपस्थित जिल्ला प्रतिनिधिहरूले आआफ्ना जिल्लाको मानव अधिकार अवस्थाबारे जानकारी गराएका थिए ।

photo20211230banke

अन्य

भिडियो