इन्सेकसँग आबद्ध मानव अधिकारका लागि युवा समूह कास्की र जिल्ला युवा समिति कास्कीको संयुक्त आयोजनामा युवाहरूका लागि क्षमता विकास तालिम कात्तिक २१ गते पोखरामा सम्पन्न भएको छ ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखराका निमित्त निर्देशक नितु गर्तौलाले युवाहरूलाई मानव अधिकारको विषयमा जानकारी गराउन सकेमात्र देशमा मानव अधिकार संस्कृतिको विकास हुने बताइन् ।
गर्तौलाले पछिल्लो समयमा आन्दोलन, विरोध, तोडफोड जस्ता कार्यमा युवाहरू परिचालन हुने गरेको उल्लेख गर्दे युवालाई के गलत ? के सही ? भन्ने कुरा सिकाउन जरूरी रहेको पनि बताइन् ।
इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेलले मानव अधिकारको सम्बर्द्धनमा युवाहरूले महत्वपूर्ण भुमिका खेल्न सक्ने उल्लेख गरे ।
सोही तालिममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यलय कास्कीका असई टङ्क पौडेलले कास्की प्रहरीले युवाहरूमा व्याप्त लागुपदार्थको विषयमा सम्वेदनशील भएर काम गरिरहँदा पनि पोखरा चौथौ स्थानमा रहनु दुखद भएको बताए ।
उनले युवावर्ग किन दुर्व्यसनीमा फसिरहेको छ ? भन्ने विषयमा सबै सरोकारवालाहरूले गम्भीर भएर सोच्नु आवश्यक रहेको बताए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय