
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिका-१० को वडा मानवअधिकार समूहले डाक्नेश्वरी नगरपालिका-१० का स्वर्गियमुनर मोची रामको छोरी ४५ वर्षीया धनेश्वरी कुमारी राम र स्वर्गिय सुलेमान अन्सारीको छोरा १८ वर्षीय जावेद अन्सारीको नागरिकता प्रतिलिपि बनाउनका लागि वडा अध्यक्ष कुञ्जिलाल चौधरीलाई कात्तिक ८ गते ध्यानाकर्षण गराएको छ ।
नागरिकता अभावमा राज्यबाट पाउने अधिकारबाट बञ्चित रहनु परेको गुनासो आएपछि समूहले वडा अध्यक्ष चौधरीलाई ध्यानाकर्षण गरी यथासिघ्र नागरिकता प्रमाण पत्र बनाई दिन अनुरोध गरेको हो ।
यस अघि डाक्नेश्वरी नगरपालिका मानवअधिकार समूहले अवस्थाको अनुगमन गरी वडा अध्यक्ष चौधरीलाई ०८१ जेठ ९ गते ध्यानाकर्षण–पत्र बुझाएको थियो । सो को कार्यान्वयन नभएकाले वडा मानवअधिकार समूहले यथासिघ्र नागरिकता प्रमाण पत्र बनाउन पहल गर्दै ध्यानाकर्षण गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको भएको भन्नुहुँदै मानवअधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले पीडितको पुनः आएको गुनासोलाई सम्बोधन गर्दै नागरिकताका लागि यथासिघ्र पहलगर्न ध्यानाकर्षण गराएको बताउनु भयो ।
वडा अध्यक्ष चौधरीले उक्त समस्या प्रति ध्यान रहेपनि सम्बन्धित व्यक्तिका अभिभावक नरहेकोले सिफारिश गर्न थप कागजपत्र नपुगेकोले नियमानुसार कागजपत्र ल्याउना साथ सिफारिश गर्ने र नागरिकताका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
मानवअधिकार समूहका अध्यक्ष मण्डल, कोषाध्यक्ष मो.मुसा अन्सारी, सदस्य बिमला विश्वकर्मा तथा मानवअधिकार समूहका वडा अध्यक्ष बौएलाल रजक र इन्सेक जिल्ला सहजकर्ता अजय परियारलगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।