INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार प्रवर्धन गर्न नागरिक कर्तव्यमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न संघ, सस्थाको आयोजनामा मङ्सिर २४ गते घोराहीमा ७७ औं मानव अधिकार दिवस मनाइएको छ ।

मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उमनपाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अधिकारकर्मीहरुले मानव अधिकारको प्रवर्धन गर्दा नागरिक कर्तव्यलाई भुल्न नहुनेमा जोड दिए । ‘आफ्नो मानव अधिकारको खोजी गर्दा, अरुको अधिकार के हुन्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ, अधिकारकर्मीहरुले भने,–‘यदि अरुको अधिकारको विषयमा पनि सबैले सोच्ने र नागरिकको कर्तव्य नभुल्ने हो भने मानव अधिकार प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ ।’

सो अवसरमा नागरिक समाज दाङका सदस्य हरिप्रसाद पाण्डेले हरेक नागरिक आफ्नो कर्तव्यका बारेमा सचेत हुन सके मानव अधिकारको सम्मानमा टेवा पुग्ने बताउनुभयो । वक्ताहरुले दाङमा सिमेन्ट उद्योग र भुसे इटा उद्योगका कारण वातावरण प्रदूषण बढेको भन्दै यसतर्फ आवाज उठाउन जरुरी रहेको बताए । चुनढुंगा उत्खनन्का कारण पानीका मुहानमा समस्या भएको, चुनढुंगा ढुवानी गर्ने टिप्परका कारण धुलो, धुवा बढेकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।

बंगलाचुली गाउँपालिकास्थित तापा चुनढुंगा खानी प्रभावितहरुले धुलो, धुवाँ र ध्वनी प्रदूषणका विरुद्ध आन्दोलन थालेको भन्दै वक्ताहरुले खानीपीडितको मागप्रति गम्भीर हुन सरोकारवालाहरुलाई आग्रह गरे । साथै पछिल्लो अवस्थामा डिजिटल माध्यमबाट लैंगिक हिंसामा वृद्धि भइरहेको उल्लेख गर्दै डिजिटल साक्षरतामा ध्यान दिनुपर्ने पनि बताए । मानवअधिकार सञ्जाल दाङ, महिला मानवअधिकार रक्षक सञ्जाल दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, नेपाल पत्रकार महासंघ दाङलगायत विभिन्न संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रममा जिल्ला बार इकाइ दाङका अध्यक्ष गोमा महरा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले बोल्नुभएको थियो ।

जयनारायण पुन

अन्य

भिडियो