INSEC Online

📅 २०८३ जेष्ठ २१

महोत्तरीको गौशाला नगरपालिकामा इएलपी परियोजनाको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरद्वारा महोत्तरीको गौशाला नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको अवस्थाबारे माघ २४ गते अनुगमन गरेको छ ।

इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना लागु भएको तेश्रो वर्षमा कार्यक्रमको प्रभावकारिता, नगरपालिका र मानव अधिकार समूहबिचको समन्वयको अवस्थाबारे अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा मानव अधिकार निगरानी समूहले तीन वर्षदेखि हालसम्म गरेका क्रियाकलाप, प्रगति विवरण, स्थानीय निकायसँगको समन्वय र सहकार्यकाबारेमा छलफल गरी प्रतिक्रियाहरू लिइएको थियो ।

छलफलको क्रममा नगरप्रमुख शिवनाथ महतोले मानव अधिकार निगरानी समूहद्वारा गौशाला नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका क्षेत्रमा गर्दै आएका कामहरूको प्रशंसा गर्दै परियोजनाको अवधि सकिए पनि नगरपालिकामा नै हेल्पडेस्क स्थापना गरी मानव अधिकार समूहलाई मानव अधिकारको सुरक्षार्थ निरन्तरता दिन सकिने बताउनु भयो ।

नागरिकहरूलाई मानव अधिकारको प्रत्याभूति दिलाउन गौशाला नगरपालिकाले सदैव सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।

बाल पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता, अपाङ्गता भएका व्यक्तिलाई भत्ता वितरणमा ढिलासुस्ती भएको भन्ने सदस्यहरूको प्रश्नमा उपप्रमुख आशा लामाले बैङ्क र वडा कार्यालय दुवैलाई राखी छलफल पश्चात सबै समस्या हल भइसकेको र अब छिट्टै सहज रुपमा वितरण हुने जानकारी दिनु भयो ।

गौशाला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रगाढ महतोले नागरिकहरूको स्वास्थ्य अधिकारको संरक्षणका लागि आफ्ना सेवालाई १२ ओटा स्वास्थ्य संस्थाहरूबाट नियमित रुपमा प्रदान गर्दै आएको र आगामी दिनमा सेवाहरूलाई थप गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनु भयो ।

इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा यस परियोजनाले थोरै भएपनि सहयोग पुगेको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष विन्देश्वर साहले मानव अधिकारको संरक्षणका लागि आफूहरूको तर्फबाट पहल र प्रयास जारी रहने बताउनु भयो ।

photo20220209mahottari (1)

photo20220209mahottari (2)

photo20220209mahottari (3)

अन्य

भिडियो