INSEC Online

📅 २०८३ जेष्ठ २१

भ्रष्टाचार र अनियमितता रोक्न नागरिक समाज र पत्रकार लाग्नु पर्नेमा जोड

विकासमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता रोक्न नागरिकसमाज र पत्रकारको सक्रिय भूमिका हुनु पर्नेमा रामेछापका राजनीतिक दल, पत्रकार र नागरिक समाजले जोड दिएका छन् ।

जिल्लाका सर्वसाधारण, नागरिक समाजका अगुवा, पत्रकार र राजनैतिक दलका प्रतिनिधिहरूले सबै क्षेत्रमा भ्रष्टचार बढ्दै गएको गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेक रामेछापले मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा पुस ३ गते सदरमुकाम मन्थलीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगत विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले मुलुकमा बढ्दो भ्रष्टचार रोक्नका लागि अहिलेको विकास ढाँचामा नै परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

उहाँले अहिले स्थानीय स्तरमा हुने विकास निर्माणका काममा कमाउने मनसायले उपभोक्ता समितिमा बस्न तँछाडमँछाड गर्ने प्रचलन बढेकाले यसलाई कम गर्नका लागि विकासको मोडलमा नै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

आवश्यकताको पहिचान विना बजेट विनियोजन गर्ने प्रचलनका कारण पनि रामेछापमा भ्रष्टचार हुने गरेको नेता श्रेष्ठको भनाइ छ ।

नेपाली कांग्रेसका सचिव लेखबहादुर कार्कीले पदको स्वादमा भुल्दा निर्वाचित जनप्रतिनिहरूले आफू निर्वाचित भएको पार्टीलाई नै भुलेको बताउनु भयो ।

जिल्लाको विकास निर्माणलगायतका काममा अनियमितता बढ्दो रूपमा रहेको बताउँदै सचिव कार्कीले अब राजनीतिक दलले उम्मेदवारको विषयगत योग्यता हेरेर मात्रै टिकट दिनुपर्ने बताउनु भयो ।

अहिलेको कार्यशैली हेर्दा निर्वाचित जनप्रतिनिधिहरू दिनदिनै असफल हुँदै गएकाले यसले मुलुकको अहिलेको प्रणलीलाई नै असफल बनाउने खतरा बढेको हुँदा सबै सजग हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेंल र पत्रकार महासङ्घ रामेछापका सचिव नवराज श्रेष्ठले अहिलेका जनप्रतिनिधिहरू कसरी कमाउन सकिन्छ भन्नेमा लागेको सर्वसाधारणको गुनासो रहेको बताउनु भयो । सहभागीहरुले यस्ता विषय पत्रकार र नागरिक समाजले सङ्गठित रूपमा उठाउनु पर्ने बताए ।

photo201912119ramechhap1

photo201912119ramechhap2

photo201912119ramechhap3

अन्य

भिडियो