भक्तपुरका भूकम्पपीडितहरूले भूकम्प गएको १६ महिना बितिसक्दा पनि सरकारले अझै अनुदान नदिँदा घर बनाउन नपाएको गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १६ गते भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकामा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारसँग अनुदान रकम छिटो वितरण गर्न माग गरेका थिए ।
कार्यक्रममा भूकम्पपीडित भवानी थापाले सरकारले दुई किस्तामा २५ हजार रुपियाँ पाए पनि सरकारले दिने भनेको अनुदान रकम नदिँदा घर बनाउन समस्या भएको बताइन् ।
अर्का पीडित केदार न्यौपानेले सरकारले अनुदान रकम दिन्छु भनेर आशामा मात्रै राख्नु नहुने बताउँदै भने-‘सरकारले दिन्न भनेको भए जसोतसो घर बनाउथें, अनुदान दिन्छु भनेर अझै नदिँदा भूकम्पपीडित आशै आशामा मात्रै बसेका छन् ।’
एनजिओ, आईएनजिओले आफ्ना नजिककालाई मात्रै सहयोग गरेको बताउँदै उनले भने-‘सरकारले दिने भनेको २५ लाख रुपियाँको अनुदान ऋण पाउने आशामा घर बनाउन थालेका छैनौं । त्यो पैसा कहिले पाउँछौं ?’
स्थानीय चन्द्रप्रसाद राजथलाले भूकम्प गएपछि तीन ओटा सरकार परिवर्तन भएपनि सरकारले अनुदान रकम नदिएर आश्वासन मात्रै दिँदा भूकम्पपीडितले सास्ती व्यहोरेको गुनासो गरे ।
कार्यक्रममा अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले भूकम्पपीडितको पुनः र्सर्वेक्षण सुरु गरिएको बताउँदै सरकारले अनुदान रकम पठाए लगत्तै वितरण गर्ने जानकारी दिए ।
उनले भूकम्पपीडितको घर बनाउन नक्सा पासका लागि २५ प्रतिशत छुट गरेकोमा अब ५० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिए ।
कार्यक्रममा महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीलाकुमारी घिमिरेले भूकम्प पीडितहरूमा अझै पनि मानसिक समस्या रहेकाले वडा कार्यालयमा उनीहरूलाई मनोसामाजिक परामर्श दिने सेवा सुरु गरेको बताइन् ।
महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी श्यामबाबु ओलियाले भूकम्पपीडितहरूलाई कुनै कानुनी समस्या आएमा प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे ।
कार्यक्रममा इन्सेकका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख सुशील चौधरीले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यबस्था नहुँदा पीडादायी भएको बताए ।

सविना केसी