सिद्धिचरण नगरपालिकाले सार्वजनिक सुनुवाइमा तीन बुँदे प्रतिवद्धता जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिद्धिचरण नगरपालिकाको संयुक्त आयोजनामा कात्तिक ३० गते नगरपालिकाले प्रवाह गरेका सेवा र गुणस्तरका विषयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर मोहनकुमार श्रेष्ठले प्रतिवद्धता जनाएका हुन् ।
मेयर श्रेष्ठले भूकम्प पीडितका समस्या तत्काल समाधान गर्ने, नगरपालिकाले लगाएको एकीकृत कर प्रणाली र अभिलेख व्यवस्थित गर्ने र विषयगत क्षेत्रमा बजेट व्यवस्थित गर्ने प्रतिवद्धता जनाए ।
सार्वजनिक सनुवाइमा पहिलो किस्ता पाएर दोश्रो किस्ता लिन जाँदा अभिलेख नभेटिएको पीडितका गुनासो समाधान गर्न तत्काल प्रक्रिया अघि बढाउने मेयर श्रेष्ठकोप्रतिवद्धता छ ।
सार्वजनिक सुनुवाइमा बोल्दै मेयर श्रेष्ठले पुनःनिर्माण प्राधिकरणको नियमानुसार बनिसकेका घरलाई एकमुष्ठ रकम भुक्तानी दिने कार्यविधि नगरपालिकामा आउनासाथ उपलब्ध गराउने तथा नगरपालिकाको कर कक्ष व्यवस्थित नहुँदा कर बुझाउन आउने सेवाग्राहीहरूलाई समस्या भएको भन्ने गुनासो यथाशीघ्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय शेरबहादुर बानियाले कृषि तथा पशु सेवा कार्यालयबाट पाउने सेवा सुविधामा कार्यालयका कर्मचारी र वडा कार्यालयले सीमित व्यक्तिहरूलाई मात्र बोलाएर कार्यक्रम सञ्चालन गरेको र सीमितले मात्रै सेवा पाएको गुनासो गरेका थिए ।
आफ्ना गुनासो राख्ने क्रममा कमला रम्तेलले आफ्नो घरमा बस्नका लागि अयोग्य छ भनेर प्राविधिकहरूले भने पनि आफ्नो घर भूकम्पको पूर्ण क्षतिमा नपरेको भन्दै तत्काल अनुगमन गरिदिन अनुरोध गरेकी थिइन् । मिठुमाया मगरले आपूmले भूकम्पको पहिलो किस्ता पाएपनि दोश्रो किस्ता रकम पनि निकासा भएको तर रकम लिन जाँदा पहिलो किस्ता रकम लिएको अभिलेख नै नहुँदा पछिल्लो किस्ता नपाएको गुनासो गरिन् ।
गुनासोका जबाफ दिने क्रममा नगरपालिकाका इञ्जिनियर दिव्य श्रेष्ठले नागरिकहरूले उठाएको भूकम्प पछिको आवास निर्माणमा केही समस्या भएको स्वीकार गरेका थिए । आचारसंहिता आउनु अघि बनेका घरका सवालमा छुट्टै कार्यविधि आएपछि समाधान हुने उनले बताए ।
कार्यक्रममा उठेका प्रश्नको जबाफ दिँदै वडा अध्यक्ष दानबहादुर बानियाले कृषि र पशु सेवा कार्यालयको वार्षिक प्रगति प्रतिवेदन बुझाउने समय भएको बेलामा वडामा आएर बाध्यकारी रूपमा कार्यक्रम सम्पन्न नै गर्नुपर्ने आवश्यकता भएकोले सबैलाई समेट्न नसकिएको र आगामी दिनमा त्यसो नहुने बताए ।
प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले नगरपालिकाको बारूण यन्त्र उपयोगमा नआएकाले तत्काल व्यवस्थापन गर्न ध्यानाकर्षण गराइन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो भिजन एफएम ९०.५ मेगाहर्ज र रेडियो ओखलढुङ्गा १०५.६ मेगाहर्जबाट गरिएको थियो ।
शिवप्रसाद ढुङ्गाना