भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २ गते मन्थली नपा-८ गाईखुरामा सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले भूकम्प पछि पुननिर्माणको क्षेत्रमा भएको प्रगति तथा देखिएका समस्या र त्यसको समाधानको उपाय खोजी गर्न इन्सेकले हरेक तीन/ तीन महिनामा गाउँगाउँमा गएर सार्वजनिक सुनुवाइ गरिरहेको जानकारी दिए । उनले सरोकारवाला बिचमा हुने हाकाहाकी सवाल जबाफले विषयवस्तुमा स्पष्ट हुन सहयोग पुग्ने बताए ।
सार्वजनिक सुनुवाइका सहभागीहरूले गाइखुरामा एकीकृत बस्ति विकास गर्ने कुरा भए पनि त्यो हुन नसकेको गुनासो गरे । उनीहरूले पर्याप्त जनशक्ति तथा आर्थिक सङ्कटको कारण घर बनाउन समस्या भएको बताए ।

अधिकांश आदिवासी माझी समुदायको बसोबास रहेको सो बस्तीको बिचबाट विद्युतको प्रशारण लाइनको तार तानिँदा घर बनाउने ठाउँ समेत नभएको स्थानीयले गुनासो गरे ।
सहभागीहरूले उठाएको प्रश्नको जबाफ दिँदै मन्थली नपा-८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले विद्युतको लाइन सार्ने विषयमा विद्युत प्राधिकरणको मन्थली वितरण शाखामा बारम्बार कुरा भइरहेको जानकारी दिए । प्राधिकरणबाट पोल सारिदिने आश्वासन पनि आएको उनले बताए ।
स्थानीय ४२ जनाको सहभागिता रहेको सार्वजनिक सुनुवाइमा सो बस्तीलाई प्रभाव पार्ने गरी टाँगिएको विद्युत पोल अन्यत्र सारिदिन विद्युत प्राधिकरणमा अनुरोध गर्ने तथा सामाजिक संस्थाहरूले वडामा काम गर्दा वडा कार्यालयसँग समन्वय गरेर काम गर्ने दुई बुँदे प्रतिबद्धता तथा निर्णय भएको छ ।
नवराज पथिक