अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ १५ गते जिल्लाको कोशिदेखा गाविसमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्प पछिको अवस्थाका विषयमा बताएका थिए ।
कार्यक्रममा जिल्ला विकास समिति काभ्रेका कार्यक्रम अधिकृत ऋषिकान्त घिमिरेले भूकम्पपछि सर्वसाधारणले निकै समस्या व्यहोरेको उल्लेख गर्दै भूकम्प गएको दिनदेखि नै जिविसले सक्दो सहयोगका काम गरिरहेको बताए ।
कार्यक्रमका सहभागीले सरकारले भूकम्पपीडित सबैको नाम सूचीमा समावेश नगरेको र घर बनाउन दिएको नमूना अनुसार घर बनाउन कठिन रहेको बताए । उनीहरूले चार्डपर्वको मुखमा रकम दिँदा रमाइलोमा नै बढी रकम खर्च हुने भएकाले यसतर्फध्यान दिन आग्रह गरेका छन् ।
रेडियो नमोबुद्धसँगको सहकार्यमा भएको कार्यक्रममा प्रहरी चौकी तिमालवेशीका सुकेश्वर महत्तो, गैसस महासंघकी गंगा दोङ, गाविसको तर्फबाट सुनिता त्रिपाठी र राजनीतिक दलहरूका तर्फबाट लालप्रसाद त्रिपाठीले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा १ सय ५१ जनाको उपस्थिति रहेको थियो ।

भोजराज तिमल्सिना