अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-३ स्थित श्री सूर्योदय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले जातीय विभेदसम्बन्धी ०८० असार ६ गते पलासेमा सडक नाटक प्रदर्शन गरेको छ ।

उक्त नाटकमा जातीय विभेद तथा लैंगिक विभेद लगायतको विषयमा नाटक प्रस्तुत गरिएको थियो । हाम्रो समाजमा अहिले पनि जातीय भेदभाव हुने गरेको र सोही कुरालाई नाटकमा सिप र श्रम चल्ने तर पानी नचल्ने, दलितले छोएको पानी नचल्ने लगायतका विषयमा प्रस्तुत गरिएको छ ।
विकट राक्सिराङ गाउँपालिकामा घटेको घटनालाई आधारित छोरा छोरीमा हुने विभेदलाई समेत प्रस्तुत गरिएको थियो ।

यस सडक नाटक प्रदर्शनमा श्री सूर्योदय माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीले बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
यस नाटकले बालबालिकामा भएको भित्री प्रतिभाले समाजमा सकारात्मक सन्देश दिने र सबैमा सचेतनाको विकास गर्न सक्ने श्री सूर्योदय माध्यामिक विद्यालयका शिक्षक दिपक कार्कीले बताउनु भयो ।

समाजमा जातीय विभेदसम्बन्धी बालबालिकाद्वारा सचेतना कार्यक्रम गर्दा सबैलाई यसको राम्रो सन्देश गएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ओमकार घलानले उल्लेख गर्नुभयो ।
बाल अधिकार समूहद्वारा जातीय विभेदसम्बन्धी सडक नाटक प्रदर्शनमा श्री सूर्योदय माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
