
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित रामदयाल माध्यमिक विद्यालयमा ०८० असोज २३ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।
रामदयाल माध्यमिक विद्यालयका जयप्रकाश दासको अध्यक्षतामा २७ सदस्यीय बाल अधिकार सचेतना समूह पुनर्गठन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा आयशा प्रविण, उपाध्यक्षमा सहिल साह, सचिवमा प्रदीप कुमार मण्डल, सहसचिवमा लक्ष्मी मण्डल, कोषाध्यक्षमा दिव्या चौधरी रहनु भएको संरक्षक शिक्षक अशोक साहले बताउनु भयो । कार्यक्रम व्यवस्थापनमा सुर्यनारायण पाल र सल्लाहकारमा शिक्षक हरीनारायण चौधरी रहनु भएको छ ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूहका सदस्य देबीमाया भटृराईले बाल अधिकार सचेतना, शिक्षा, स्वास्थ्य, वातावरण, विभेदिकरणका विषयमा चर्चा गर्नुभयो । संरक्षक शिक्षक अशोक साहले बालबालिकाहरूको कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन निर्माण गर्नुका साथै विद्यालयका अन्य गतिविधिमा समेत सकारात्मक सोंचका साथ लाग्नु पर्ने बताउनु भयो ।
बाल अधिकार चेतना समूहले समूहको वैठक बस्ने, विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागिता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकारात्मक सहयोग गर्ने बारेमा सहजकर्ता अजय परियारले सहजिकरण गर्नुभएको थियो ।
इन्सेकले शिक्षा, स्वास्थ्य, लैंगिक विभेदविरूद्ध, वातावरण अधिकार लगायतका विषयमा उक्त विद्यालयमा विगत एक वर्षदेखि बाल अधिकार सचेतना समूह मार्फत कार्यक्रम चलाउँदै आएको छ ।
