INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाको अधिकार सुनिश्चित गर्न सरोकारवालाको सक्रियता जरुरी: उपसभामुख थापा

बालबालिकाले आफ्नो नैसर्गिक अधिकारको निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्ने गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा ०८२ जेठ १५ गते पोखरामा आयोजित बाल अधिकार समूहका पदाधिकारीका लागि दुईदिने क्षमता विकास तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

Photo 2025-05-30 Kaski

उहाँले बालबालिकाले प्राप्त गरेका अवसरको सदुपयोग गर्नु आवश्यक रहेको उल्लेख गर्दै बाल अधिकार प्रवद्र्धनमा गैरसरकारी संस्थाहरूले सरकारलाई महत्वपूर्ण सहयोग गरिरहेको बताउनुभयो । खेल क्षेत्रमा बालिकाको सहभागिता बढाउनुपर्ने र किशोरीहरूका लागि आत्मरक्षा तालिमको व्यवस्था गर्न सरोकारवाला निकायहरू लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, उहाँले हिंसारहित समाज निर्माणका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नीतु गर्तौलाले बालबालिकामा गरिएको लगानी नै देशको समृद्धिमा योगदान पु‌र्याउने बताउनुभयो । अधिकारसँगै कर्तव्यको पालनाले मानव अधिकार प्रवद्र्धनमा सहजता ल्याउने उहाँको भनाइ थियो ।

शुभकामना मन्तव्य राख्ने क्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाल, गैरसकारी संस्था महासंघ गण्डकीका उपाध्यक्ष पदमराज पहारी, महिला अधिकारकर्मी सवनम शर्मा र बाल अधिकारकर्मी केशव पौडेलले बाल अधिकारको क्षेत्रमा अझ बढी सक्रियता जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

तालिमको प्रमुख उद्देश्य बालश्रम अन्त्य र बाल अधिकार संरक्षणमा सरोकारवालाहरूको भूमि महत्वपूर्ण रहेको इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा बाल श्रम न्यूनीकरणका उपाय, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरू र हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका जस्ता विषयमा सहजीकरण गरिनेछ ।

गण्डकी प्रदेश सभा उपसभामुख बिनाकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, श्रम तथा रोजगार कार्यालय, गैरसरकारी संस्था महासंघ, महिला तथा बाल अधिकारकर्मीहरू साथै नवलपुर र कास्की जिल्लाबाट आएका बाल अधिकार समूहका पदाधिकारी र फोकल शिक्षकहरूको उपस्थिति रहेको थियो । तालिम जेठ १५ र १६ गतेसम्म सञ्चालन हुनेछ ।

अन्य

भिडियो