शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख खगेन्द्रबहादुर मल्लले बालबालिकाको खास समस्या पहिचान नगरी सञ्चालन गरिएका वृत्तिविकासका कार्यक्रमहरू परिणाममूखी हुन नसकेका बताएका छन् ।
इन्सेकको इएलपी परियोजना अन्तर्गत गठित बाल अधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम समापन कार्यक्रममा असोज १६ गते उनले बालबालिकाका वास्तविक समस्या पहिचान गर्नुपर्ने धारणा राखेका हुन् ।
इकाई प्रमुख मल्लले भोको पेट र अझै पनि शौचालय समस्याले बालबालिकाहरू कक्षा छोड्ने गरेको, कमजोर विद्यार्थीको सिकाई सुधारका कार्यक्रम प्रभावकारी हुन नसकेको बताए ।
बालबालिकाहरूलाई अधिकारको जानकारी गराउने यस्ता तालिमले अधिकारको सचेतना बढाउन सहयोग पुग्ने उनले आशा व्यक्त गरे ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बाल अधिकार तालिमले बालबालिकालाई अधिकारप्रति सेचत हुने र कर्तव्य पालनाको दायित्व समेत बोध गराइएको बताए ।
कार्यक्रममा सहजकर्ता युवा जागरण अभियन्ता सजना सुनारले विद्यार्थीहरूलाई यस्ता तालिम र अतिरिक्त क्रियाकलापले औपचारिक शिक्षा प्राप्तिमा समेत विवेचनात्मक तारिकाबाट बुझ्न सक्ने क्षमताको विकास हुने बताइन् ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने ‘इएलपी परियोजना’का जिल्ला सहजकर्ता उदय थापाले परियोजनाले पैरवी गर्ने शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षा विषयसँगै बाल अधिकार प्रवर्धनमा इन्सेकले गरेका काम बारे प्रकाश पारेका थिए ।
त्यसैगरी त्रिवेणी सङ्गम मावि चुप्राका शिक्षक रामप्रसाद यादवले तालिमका विषयवस्तु, सहजकर्ताको बुझाउने सीप र प्रस्तुतीले तालिमले बालबालिकालाई जीवन उपयोगी सीप विकास गराएको विश्लेषण गरेका थिए ।
इन्सेकले सञ्चालन गरेको इएलपी परियोजना अन्तर्गत गठित सरस्वती मावि तर्ताङ्ग, देवीस्थान आवि डुङ्गेश्वर, त्रिवेणी सङ्गम मावि चुप्रा र रेडक्रस मावि भूर्तीका बाल अधिकार चेतना समूहका २४, युवा समूहका २ र शिक्षक ४ समेत गरी २१ महिला र ९ जना पुरुषहरूको सहभागिता थियो ।
बाल अधिकार अवधारणा, बालमैत्री विद्यालय तथा दण्डरहित शिक्षा, बाल न्याय र बाल मनोविज्ञान, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका, बाल अधिकार चेतना समूह सञ्चालन व्यवस्थापनलगायतका विषयमा अभिमूखीकरण गराइएको बताइएको छ ।
अमर सुनार