
इन्सेकद्वारा गठित डाक्नेश्वरी नगरपालिका–७ स्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले विद्यालय व्यवस्थापन समिति गठनका लागि वडा अध्यक्ष शत्रुघ्न मण्डललाई ०८०माघ १० ध्यानाकर्षण पत्र बुझाएको छ।
बिगत ५ वर्षदेखि विद्यालय व्यवस्थापन समिति नभएको कारणले विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर तथा शैक्षिक व्यवस्था प्रभावित भएको भन्दै सचेतना समूहले अविलम्ब समिति गठनको पहल गर्न वडा अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएको हो ।
समितिको अभावमा विद्यालयको शैक्षिक व्यवस्थापन र बिद्यार्थीहरुको शिक्षामा प्रत्यक्ष प्रभाव परेको भन्दै ०८० पुस ५ गते बसेको अभिभावक भेलाले व्यवस्थापन समिति गठन गर्न माग गरेको थियो । अभिभावकहरूले इन्सेकसँग आफ्नो बालबालिकाहरूको भविष्यमाथि खेलवाड भइरहेको गुनासो गरेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै वडा अध्यक्ष मण्डलले विद्यालय व्यवस्थापन समिति गठनको लागि नगरपालिका कार्यालयमा पत्राचार गरेको जानकारी दिनु भयो । उहाँले सबैको सहयोगमा माघ भित्र व्यवस्थापन समिति गठन हुने प्रतिबद्धता जनाउनु भयो ।
बाल अधिकार सचेतना समूहका अध्यक्ष रुपेश कुमार सन्त, उपाध्यक्ष चाँदनी मण्डल, सदस्य दिनेश कुमार मण्डल र इन्सेक जिल्ला सहजकर्ता अजय परियार लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।