खाद्य गुणस्तर मापन गर्ने प्रविधि नहुँदा गुणस्तर मापनमा समस्या भएको बताइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बुटवलमा आयोजित खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बुटवल उपमनपा–४ का अध्यक्ष टङ्कप्रसाद पराजुलीले उक्त कुरा बताउनु भएको हो ।
पराजुलीले खाद्य अधिकारको सुनिश्चितताका लागि स्थानीय सरकारले कार्यविधि बनाएर अगाडि बढीरहेको बताउदै बजारमा बिक्री बितरण हुने बस्तुहरूको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मितिका विषयमा उपभोक्तालाई सचेत गराउनु पर्ने बताउनु भयो । उहाँले आम नागरिक आत्म निर्भर र सचेत नबन्दासम्म यस्तो समस्या रहि रहने बताउनु भयो ।
डाक्टर युवराज भण्डारीले खानाको गुणस्तरसँगै सरसफाई महत्वपूर्ण भएकोले फोहोर पानी, फोहोर हात र फोहोर खानेकुराका कारण समस्या हुने बताउदै सस्तो खाना खोज्ने तर गुणस्तर नहेर्ने प्रवृत्तिले पनि समस्या भएको बताउनु भयो । उहाँले बस्तुको उत्पादन भएको मिति र प्रयोग गर्न मिल्ने मिति अनिवार्य हेरेर खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।
समाजसेवी श्यामप्रसाद पन्थले खाद्य बस्तुमा मिसावट गर्नेलाई कानुनी दायरामा नल्याउदासम्म समस्या यथावत रहने बताउदै यसमा तीन वटै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।
निगरानी समितीका कोषाध्यक्ष संजय कुमार गुप्ताले बजारमा खाद्यमा मिसावट अत्याधिक भएकोले यस्तो खालको मिसावट रोक्नका लागि इन्सेकले निरन्तर अनुगमन गरी सरकारलाई नागरिकको स्वास्थ्य प्रति जवाफदेही बनाउनु पर्ने बताउनु भयो ।