INSEC Online

प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रविधिको सदुपयोग सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम ०८३ असार १ गते जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आफन्त नेपाल जनकपुरधाम वडा नं ८ कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा आठमा अध्ययनरत ७२ जना विद्यार्थीलाई प्रविधिको सदुपयोग सम्बन्धी जानकारी दिइएको हो ।

विद्यार्थीहरुलाई प्रविधिको सही प्रयोग गर्न र दुरुपयोग नगर्न भनी विद्यालयमै आएर सचेतनाको अभियान चलाउनु आफैमा सराहनीय कार्य भएको विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले उल्लेख गर्नु हुँदै आयोजक संघ संस्थाप्रति धन्यवाद प्रकट गर्नु भएको थियो ।

सचेतना कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ की वडा सदस्य मुन्नी दासले मोवाइलको सहि प्रयोग नगर्दा धेरै बालबालिका विभिन्न समस्यामा पर्ने गरेको हुँदा अभिभावक र शिक्षकहरु गम्भीर हुन जरुरी रहेको बताउनु भयो । विद्यार्थी बालबालिकालाई मोबाइल नै प्रयोग नगर्न र अध्ययन कार्यमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका बरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले विद्युतीय अपराधका विषयमा सहजिकरण गर्दै विद्युतीय अपराधका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउने कानूनी व्यवस्था रहेको भन्दै यस्ता गतिविधिबाट टाढा रहन सुझाव दिनुभयो ।

बाल अधिकार र प्रविधिको सहि सदुपयोग सम्बन्धी कार्यपत्र प्रस्तुती गर्दै प्रविधिको सहि सदुपयोग नहँुदा समाजमा यसबाट नकारात्मक सन्देश गइरहेको हुँदा प्रविधिलाई सहि सदुपयोग गर्न र गराउन आवश्यक रहेको इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले बताउनु भयो । उहाँले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत जानकारीको सुरक्षा, अनलाइनमा अपनाउनुपर्ने सावधानी, साइबर अपराधका जोखिम तथा मानव बेचबिखनका नयाँ प्रवृत्तिबारे विद्यार्थीहरूलाई जानकारी आवश्यक रहेको बताउनु भयो । त्यसैंगरी आफन्त नेपाल, शाखा कार्यालय धनुषाकी जिल्ला संयोजक अमृता घिमिरेले “प्रविधि तथा मानव बेचबिखन” विषयमा सहजीकरण गर्नुभयो ।

कार्यक्रमका सहभागी विद्यार्थीहरूले प्रविधिको सुरक्षित प्रयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।  

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो