अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार १६ गते गण्डकी प्रदेश स्तरीय मानवअधिकार समूह परिचालन बैठक सम्पन्न भएको छ ।
दुई वर्षअघिदेखि मानवअधिकारका बारेमा काम गर्दै आएको समूहले गाउँगाउँमा शिक्षा, स्वास्थ्य, जातीय विभेद लगायका मानवअधिकारसँग सम्बन्धि समस्यालाई निर्मुलीकरण गर्न सहयोग पु र्याउँदै आएको मानव अधिकार समूहले जनाएको छ ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले मानवअधिकार समूहले समुदायमा पुगेर मानवअधिकारका विषयमा उल्लेखनीय काम गर्न सकेको बताउनुभयो । उहाँले इन्सेकले समूह गठन गरेर पालिकामा जातीय विभेदका विरुद्ध सचेतना कार्यक्रमहरु गरेको बताउनुभयो । ‘यो समूहले स्थानीयहरुमा क्षमता विकास गरेको छ । र पालिकामा हिजो भएका थुप्रै समस्याहरु आज केही हदसम्म निर्मूलीकरण भएको छ । अहिले स्थानीय सरकार हिजो भन्दा आज सचेत भएको छ,’ प्रमुख खकुरेलले भन्नुभयो ।
मानवअधिकार समूहले पालिकालाई सचेत गराउने, स्थानीय सरकारदेखि केन्द्रलाई ध्यानाकर्षण गराएको छ । ‘मानवअधिकार समूहले अझै धेरै काम गर्न आवश्यक छ । आगामी दिनमा ती काम पनि पूरा हुने बोटोमा लम्किएको छ,’ खकुरेलले भन्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश मानवअधिकार समूह मध्यविन्दु नगरपालिकाका मानवअधिकार समूहका अध्यक्ष रामप्रसाद भट्टराईले अहिले पालिकाले सचेतनापछि स्वास्थ्यका क्षेत्र र फोहोरमैला व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको बताउनुभयो ।
मानव अधिकार समूहका सदस्य खेम पुरीले यस्तो संस्थाहरुले झक्झकायो भने स्थानीय सरकारले काम गर्ने रैछ भन्ने देखिएको बताउनुभयो ।
नवलपुरको देवचुली नगरपालिका मानवअधिकार समूहका अध्यक्ष तथा प्रदेश सचिव कृष्ण विश्वकर्माले आगामी एक वर्षको अवधिमा गर्न नसकिएको काम यो बाँकी समयमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मानव अधिकार समूहका प्रदेश सहसचिव ऋषिराम सापकोटाले विद्यालय स्तरमा अझै सुधार गर्नुपर्ने र पालिकाहरुले अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । पालिकामा अझै वडामा विवाह दर्ता नहुने, बालबालिकाको जन्मदर्तामा समस्या, फोहोरमैला व्यवस्थापनमा समस्या र सहुलीयत औषधी उपचारमा समस्या रहेको बताउनुभयो ।
माछापुच्छे गाउँपालिकाकी प्रेमकुमारी अधिकारीले मानवअधिकार मैत्री पालिका बनाउन आफूहरुले काम गरेको बताउनुभयो ।
