नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ८ गते देउखुरीमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना दस्तावेजीकरण गर्ने काम वर्ष पुस्तकले गरेको भन्दै आगामी दिनमा मानव अधिकार उल्लङ्घन र कानुन उल्लङ्घनका घटनाहरू छुट्टाछुट्टै राख्न सुझाव दिए ।

उनले आस्थाका आधारमा नागरिकलाई थुन्नु मानव अधिकारको उल्लङ्घन भएको बताए । अभियोजन प्रक्रियालाई सहज बनाउन नीति निर्माताहरू गम्भीर हुनुपर्ने उनको धारणा छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले समाजमा चन्दा असुली, धम्कीका गुनासा आएपछि सरकारी आदेश अनुसार प्रक्रिया पुर्याएर केही व्यक्तिलाई गिरफ्तार गरिएको र अनुसन्धानपछि रिहा गरिएको बताए ।
उनले समाजमा परम्परागत मुल्य मान्यतामा ह्रास आएको भन्दै लागु पदार्थ दुर्व्यवसनी र सोसल मिडियाको दुरूपयोगका कारण अपराध बढेको बताए ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन गौतमले ‘जहाँ अधिकार हुन्छ त्यहाँ हनन्को जोखिम हुन्छ’ भन्दै प्रहरीले मानव अधिकारको सम्मान गर्दै आएको बताए ।
उनले प्रहरीले गर्ने अनुसन्धान, गिरफ्तारी र अभियोजनका क्रममा हुन सक्ने कमी कमजोरीको निगरानी इन्सेकले गरेको भन्दै यस्तै खबरदारीले मानव अधिकारप्रति जिम्मेवार हुन बल पुग्ने बताए ।
जिल्ला कारागार घोराहीका प्रमुख विष्णुप्रसाद पाण्डेले अपराधको बढ्दो चापले कारागारमा नै मानव अधिकारको अवस्था नाजुक रहेको बताए ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरले सन् २०१९ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका १ सय २३ ओटा घटना प्रस्तुत गरेका थिए ।
घटनामध्ये हत्याका दुई वटा, हत्या प्रयासका तीन ओटा, गिरफ्तारी ११ ओटा, बाल अधिकार ३२ ओटा, बलात्कार तथा यौन दुर्व्यवहार ४२ ओटा, घरेलु हिंसा २६ ओटा, मानव बेचबिखनका दुई ओटा, सम्पति क्षति एउटा, कथित बोक्सी आरोपका दुई ओटा, जातीय विभेदको एउटा, बहुविवाहको एउटालगायत रहेका छन् ।
जे एन सागर