नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते राजविराजमा गरिएको छ ।
इन्सेक सप्तरीका अनुसार सन् २०१८ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा १ सय ३४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
यस अवधिमा बढी चर्चामा रहेको घटनामा एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुनामा परे । बालिका बलात्कार आरोपित सहोदर काका फरार छन् । एकल एक महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना गिरफ्तार भएका छन् । एक महिला हत्या आरोपमा पति र ससुरा गिरफ्तार छन् ।
एक गर्भवती महिलाको हत्या आरोपमा परिवारका पाँच जना थुनामा छन् । सोही घटनामा हत्या भएको भनिएकी उनकी छोरी र पतिको शव फेला परेन । आफ्नै परिवारका सदस्यद्वारा दुई पुरुषको हत्या भएको घटनामा तीन जना थुनामा छन् ।
वाइसिएल वडा सहसंयोजकको हत्या घटनामा एक जना थुनामा र एक जनालाई संरक्षकको जिम्मा लगाइएको छ, अन्य १३ जना फरार छन् । वडा अध्यक्षले एक जनालाई धम्की दिएको र प्रहरीले यातना दिएको एक घटना सार्वजनिक भएका छन् ।
यसरी हत्याका ६ (लाश फेला नपरेको दुई), बालिका बलात्कारका ३२, महिला बलात्कारका ११, बालिका यौन दुव्र्यवहारको १३, महिला यौन दुव्र्यवहारको चार, बहुविवाहको २०, बालविवाहको तीन, गर्भपतनको दुई, कथित बोक्सी आरोपको पाँच, अस्पताल तोडफोडको दुई, शिक्षकमाथि दुव्र्यवहारको दुई, बालिका अपहरणको दुई घटना सार्वजनिक गरिएको छ । बालक कुटपिट, बालिका घरनिकाला, विद्यालय तोडफोड, धम्की र यातनाका एक÷एक घटना प्रतिवेदनमा अभिलेख गरिएको छ ।
घरेलु हिंसाका सङ्कलित २७ ओटा नमूना घटनामध्ये नौ घटनामा सहमति, सहमति हुन नसकी एउटा अदालतमा चालु र अदालत पठाइएको एउटामा मिलापत्र भएको छ ।
तीन घटनामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ । तीन घटनामा चार जना धरौटीमा, एक जना साधारण तारेखमा रिहा भए भने चार जना विरूद्ध म्यादी पुर्जी जारी भएको छ । एक घाइतेका पतिले उजुरी गर्न रोके भने नौ घटनामा सहमतिको प्रयास भइरहेको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने बताए । जिल्ला बार इकाई सप्तरीका अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वक्ताहरूले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
मनोहरकुमार पोखरेल