अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम खलङ्गामा मङ्सिर ६ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २५ ओटा घटना प्रस्तुत गरेका थिए ।
जसमध्ये अन्य पक्षबाट हत्याका दुई, परिवारजनबाट हत्याका दुई, कुटपिट तथ धम्कीका ६, बाल अधिकारतर्फ नवजात शिशुको हत्या एक, बलात्कार÷बलात्कार प्रयास र यौन दुर्व्यवहारका सात, बहुविवाहको एउटा र पारिवारीक हिंसाका ६ ओटा घटना रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा डिएसपी रविन्द्रबहादुर सिंहले गाउँघरमा भएका जघन्य अपराधका घटना गाउँमै मिलाउने प्रचलन रहेको बताए ।
त्यस्ता घटना प्रहरीले जानकारी पाई आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गर्नु पूर्व नै घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिलाउन राजनीतिक दबाब आउने गरेको उनले आरोप लगाए । यस्ता दबाबलाई सुनुवाइ नगरी घटनामा संलग्न व्यक्तिलाई प्रहरीले कानुनी दायरामा ल्याउने गरेको उनले बताए ।
नेपाल बार एशोसियसनका सहदेवजङ्ग शाहले मुद्दा असफल हुनुमा अनुसन्धान फितलो हुनु, प्रमाण नष्ट हुनु र आरोपितको बयान बलियो बनाइनु मुख्य कारण रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष भिमबहादुर सिंहले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन स्थानीय तहमा गठन भएका न्यायिक समितिले विभिन्न किसिमका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै घटनालाई लुकाउने र गाउँ टोलमै मिलाउने प्रवृत्तिलाई निरूत्साहित गर्न सबै क्षेत्रबाट पहल हुनुपर्ने बताए ।
दिनेशकुमार श्रेष्ठ