नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला पक्षबीच समीक्षा गरिएको छ ।
इन्सेक सिन्धुलीले ०८२ असार २९ गते सिन्धुलीमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना र जिल्लाको मानव अधिकारको अवस्था बारे छलफल गरिएको थियो ।
समीक्षा कार्यक्रममा इन्सेक सिन्धुली प्रतिनिधि नविनबाबु अधिकारीले जिल्लामा सन् २०२५ को जनवरीदेखि जुनसम्म अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

जिल्लामा सन् २०२५ को पहिलो ६ महिनामा इन्सेक जिल्ला प्रतिनिधिले सङ्कलन गरेको सन् २०२५ को जनवरीदेखि जुनसम्मको मानव अधिकार उल्लघंनका घटनाहरूको आधारमा समीक्षा गरिएको थियो । जसमा ३३ ओटा घटनामा ३३ जना पीडित भएका छन् ।
जसमा हत्या एक, बलात्कार ११, बलात्कार प्रयास दुई, बहुविवाहका दुई, बालविवहा एक र घरेलु हिंसा १६ ओटा अभिलेख गरिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भन्नुभयो “मानव अधिकारहरूको संरक्षण राज्यको पहिलो दायित्व हो । कुनै पनि नागरिकले अन्याय, विभेद र हिंसा भोग्नु नपरोस् भन्ने हाम्रो प्राथमिकता हो । जिल्ला प्रशासन कार्यालय सबै नागरिकको जीवन, स्वतन्त्रता र मर्यादाको रक्षा गर्न प्रतिबद्ध छ । कानुनी राज्यको मूल आत्मा नै मानव अधिकार हो, त्यसैले यसलाई सशक्त रूपमा कार्यान्वयन गर्न हामी निरन्तर लागिपरेका छौं ।”
मानव अधिकार वर्ष पुस्तक प्रकाशनले राज्यका निकायहरू सचेत हुने भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो । छलफलमा सेफ हाउसमा रहेका तीन जना वेवारीसे बालबालीकालाई पढ्न पाउने र राज्यले सुरक्षित गरेका मानव अधिकारका आधारभुत पक्षहरुलाई तत्कालै सम्बोधन गर्ने बताउनुभयो ।

समीक्षा कार्यक्रममा जिल्ला न्यायाधिवक्ता निमा घिमिरेले मानव अधिकारको रक्षाका लागि स्थानीय सरकारको पनि उत्तिकै दायित्व भएको बताउनुभयो । सुरुमा मुद्दा दर्ता हुने र मुद्दा दर्ता पछि पीडिक पक्षले विभिन्न दवाव दिएर पीडित होस्टाइल हुने गरेको भन्दै सबै जिम्मेवार निकायहरुू जिम्मेवार भएर पीडितलाई न्याय दिलाउन लाग्नु पर्ने बताउनुभयो ।
आज एउटा घटनाको पीडकले सफई पाए लगत्तै पुनःमानव अधिकार उलङ्घनका घटना घटाउन तत्पर देखिएका घटना आई रहेकाले पीडकलाई कानुनी दायरामा ल्याउन सबै पक्षको सहयोग आवश्यकता रहेको बताउनुभयो । पीडित पक्षलाई न्याय दिलाउन आफुले आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग हरपल गर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले प्रहरीमा पनि मानव अधिकार सेल रहेको मानव अधिकार सम्बन्धी नियमित प्रशिक्षण हुने गरेको बताउनुभयो ।
कार्यक्रममा सेफ हाउसका गीता देवकोटाले हिंसामा परेका महिलाहरुले वर्षौ देखी न्याय पाउन नसकेको बताउनुभयो । सेफ हाउस सञ्चालन गर्न धेरै चुनौती रहेको बताउँदै विभिन्न समस्या र चुनौतिका बावजुत पनि सेप हाउसले हिंसामा परेका बालिका र महिलालाई न्यायको पहुँचमा पु¥याउन सहयोग गर्दै आएको बताउनुभयो ।
समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष विमला पाण्डे, पत्रकार महासंङ्घ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, नेपाल बार एसोसिएसन सिन्धुलीका प्रतिनिधि दुर्गा अधिकारी, नागरिक निगरानी सञ्जालका अध्यक्ष वेदराज दाहाल, जिल्ला स्तरीय मानव अधिकार सञ्जालका अध्यक्षद्वारिका काफ्ले, पत्रकार नागरिक समाजका प्रतिनिधि गरि ३५ जनाको सहभागिता रहेको थियो ।
