अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार २४ गते दिक्तेलमा सम्पन्न गरिएको छ ।
इन्सेकले सन् २०२५ को जनवरीदेखि जुनसम्म अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्लामा ०८१ पुस १६ गतेदेखि असार १५ गतेसम्मको अवधिमा २० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ । ६ महिनाको अवधिमा जिल्लामा घरेलु हिंसाका १७, बालिका बलात्कारका दुई र हत्याको एक ओटा घटना अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरले मानव अधिकारका सवालमा बेलाबेला इन्सेकले समीक्षा कार्यक्रमको आयोजना गर्ने भएकाले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी हुने बताउनु भयो । उहाँले मानव संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले इन्सेकले जिल्ला अस्पतालमा शववाहन नभएको विषयमा पटकपटक ज्ञापनपत्र, समाचार लेखेका कारण दबाब सिर्जना भएको र शवबाहन खरिदका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपियाँ बटेट विनियोजन भएको बताउनु भयो । उहाँले इन्सेकको खबरदारीले आफूहरूलाई शववाहनको आवश्यकता खड्किएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, खोटाङ प्रमुख दीपेश बस्नेतले मानव अधिकार अवस्थाका बारेमा इन्सेकले गरेको समीक्षा कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले मानव अधिकारका सवालमा राष्ट्रिय मानव अधिकार आयोगले समयसमयमा समीक्षा गर्ने गरेपनि इन्सेकले उठाएका विषय गम्भीर प्रकृतिका हुने बताउनु भयो ।
समीक्षा कार्यक्रममा इन्सेकले जिल्लाको तीन जना महिलाको रहस्य मृत्यु घटनाका दोषी पत्ता लाग्न नसक्नु, हिरासतमा मृत्यु भएका भुदेउ राईको परिवारले राज्यपक्षबाट क्षतिपूर्ति नपाउनु, सार्वजनिकस्थलमा सार्वजनिक शौचालय नहुनु, अपाङ्गमैत्री सरकार भवन नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले समस्या खेप्न बाध्य हुनुजस्ता विषय समीक्षा कार्यक्रममा उठाएको छ ।
समीक्षा कार्यक्रमा सरकारका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो ।


