सन् २०२५ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा ०८२ असार १३ गते उक्त कार्यक्रम भएको हो ।
मानव अधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकको तर्फबाट सन् २०२५ को पहिलो ६ महिनामा जिल्लामा अभिलेख भएका घटनाको बरे जानकारी गराइएको थियो ।

जिल्ला प्रतिनिधि नवराज पथिकले यस ६ महिनामा १० ओटा घटना अभिलेखीकरण भएको जानकारी दिनुभयो । जसमा घरेलु हिंसा, जातीय विभेद, धम्की, बाल अधिकार लगायतका घटना रहेका उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले हत्याका दुई, आत्महत्या दुरुत्साहनका एक, यौनजन्य अपराधका ६, जातीय विभेदका एक, घरेलु हिंसाका पाँच ओटा घटना प्रहरीमा आएका जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्यले मानव अधिकारको विषयमा अदालत अति संवेदनशील रहेको बताउनुभयो ।
अदालतले हरेक काम गर्दा मानव अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो । सहायक जिल्ला न्यायाधीवक्ता विनीता कपालीले बाल अधिकारको विषय र हिंसा पीडित महिलाहरूको विषय अहिले मानव अधिकारको हिसाबले निक्कै संवेदनशील बनेको बताउनुभयो ।

उहाँले यस्ता विषयमा मानव अधिकारकर्मी र न्यायिक क्षेत्रमा काम गर्ने निकायले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । बालबालिका र हिंसा पीडित महिलाको सुरक्षाको विषयमा सबैले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला बारका अध्यक्ष यादव दाहाल जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा बाल अधिकार उलङ्घनका विषय बढ्दै गएका बताउनुभयो । सम्बन्ध विच्छेदका कारण बालबालिकाको बाबु आमासँग बस्न पाउने अधिकार समेत खोसिने गरेकोले यो विषय निक्कै गम्भीर विषय बन्दै गएको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले मानव अधिकारका विषय उठान गर्दा कतै आग्रह वा पूर्वाग्रह नराखी उठाउनु पर्ने बताउनुभयो ।
उहाँले सामाजिक सद्भाव नै खलबल्याउने गरी अनावश्यक विषय उठाउँदा पीडित भनिएकाहरू थप पीडामा पर्ने तर्फ मानव अधिकारकर्मीहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरेले यस्ताका खालका समीक्षा कार्यक्रम नियमित हुनुपर्ने बताउनुभयो । यसले समस्याको पहिचान हुने र समाधानको लागि पनि सहयोग गर्ने उहाँको धारणा छ ।
कार्यक्रममा विभिन्न संघसंस्था, न्यायिक निकाय, पत्रकार, मानव अधिकारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
