अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि दाङमा अभिलेख गरिएको घटनाहरुको प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ ।
मानव अधिकार सञ्जाल दाङका सदस्य विनोद केसीको अध्यक्षता तथा घोराही उमनपाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यमा असार ६ गते घोराहीमा भएको समीक्षा कार्यक्रममा सहभागीहरुले वर्ष पुस्तकमा समेटिने विषयलाई थप परिस्कृत गर्दै लैजान सुझाव दिएका थिए । उनीहरुले पछिल्लो अवस्थामा सामाजिक सञ्जालको माध्यमबाट हिंसाजन्य गतिविधि भइरहेको र मानव अधिकारको विषयमा यसलाई पनि समेटेर अभिलेख गर्न सुझाव दिएका थिए । कार्यक्रममा भनाइ राख्दै प्रमुख अतिथी डिसीले मानव अधिकारको प्रवर्धनमा सरकार र नागरिक समाज सँगसँगै जानुपर्ने भन्दै वर्ष पुस्तकले सरोकारवालाहरुलाई खबरदारीको काम गरेको बताउनुभयो ।
नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठले पछिल्ला दिनमा साइवर अपराध, लागुऔषधजन्य क्रियाकलापमा महिला, बालवालिकाहरुको प्रयोग भइरहेको र यसले उनीहरुको मानव अधिकारको विषयलाई समस्या पारेको भन्दै वर्ष पुस्तकमा समेट्ने वातावरण बनाउन सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर रामकुमार केसीले वर्ष पुस्तकले प्रहरीमाथि हुने मानव अधिकारको विषयलाई पनि समेट्न सुझाव दिनुभयो । कतिपय अवस्थामा प्रहरी समेत हिंसा र अन्यायमा परेको भन्दै उहाँले यस्ता विषय वर्ष पुस्तकमा समेटेर लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले दाङमा जनवरीदेखि जुनसम्म राज्यपक्षबाट सात, अन्यपक्षबाट १ सय ५ र पहिचान नखुलेकाे पक्षबाट २ घटना भएको जानकारी दिनुभयो । दाङमा घरेलु हिंसाका सबैभन्दा धेरै ४३, बलात्कारजन्य घटना ३९, मानव बेचबिखन तथा ओसारपसार एक, दुर्व्यवहार पाँच, खाद्य अधिकार एक लगायत १ सय १४ घटनामा १ सय १५ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस घोराही नगर सभापति तिलक रावत, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज भट्राई, यौनिक तथा लैंगिक अल्पसंख्यक संयोजक जुनु चौधरी, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य सुशीला पौडेल, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तलगायतले मानव अधिकार वर्ष पुस्तकलाई नागरिक अधिकारको थप सशक्त आवाजका रुपमा स्थापित गर्न सुझाव दिनुभएको थियो ।