अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको अर्धवार्षिक समीक्षा असार ६ गते जिल्ला समन्वय समितिको कार्यालय भैरहवामा बहुपक्षीय सरोकारवालाहरुको सहभागितामा सम्पन्न भयो ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सी.ले सन् २०२५ (जनवरीदेखि जुन) ६ महिनाको अभिलेख अनुसार जिल्लामा जम्मा ४ सय २३ ओटा घटनाहरु अभिलेखिकरण गरेको बताउनु भयो । जसमध्ये बालबालिका सम्बन्धी बलात्कारका १९ ओटा, यौन दुव्र्यवहारका नौ ओटा गरी जम्मा २८ ओटा, महिला सम्बन्धी बलात्कार आठ वटा र बलात्कार प्रयास चार वटा गरी १२ ओटा गरी जम्मा ५२ ओटा रहेका छन् भने मानव बेचविखन तथा ओसार पसारका एक ओटा, पारिवारिक हत्या दुई ओटा, हत्या तीन, बहुविवाह पाँच जना, पारिवारिक हत्या तीन जना, जातीय छुवाछुतका एक जना, विद्युतीय अपराधका दुई र घरेलु हिंसाबाट ३ सय ७० जना पीडित रहेको इन्सेक रुपन्देहीले अभिलेख गरेको जिल्ला प्रतिनिधि बि.सीले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले विद्यालयमा दिवा खाजाको नाममा दुरुपयोग तातो सुजी पकाएर तातो कागजमा राखेर खान दिने गरेको अवस्था अनुगमनको क्रममा भेटिएको बताउनुभयो । उहाँले रंग राखेको बाल्टिमा तातो सुजी राखेर बाड्ने गरेको बताउदै दिवा खाजाको नाममा कतै विष त खुवाइएको छैन उहाँले प्रश्न गर्नुभयो । न्यायिक समितिमा विभिन्न खालका समस्याहरु छन पीडितलाई कहिले कुन वडा कहिले कता गएर दुःख दिने काम भएको उहाँले बताउनुभयो ।
उहाँले पछिल्लो समय ज्येष्ठ नागरिकहरुको सवालमा अनुभव सुन्ने सिकाइलाई हस्तान्तरण गर्ने खालको ज्येष्ठ नागरिक मिलन केन्द्रको आवश्यकता खड्केको बताउनुभयो । उहाँले न्यायालयको अवस्थाको विषयमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउदै बालसुधार गृह र कारागारमा रहेका कैदी बन्दीहरुलाई सीपमुलक कार्यक्रममा जोड्न सके प्रभावकारी हुने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाश गर्दा सत्य तथ्यको आधारमा टेकेर प्रकाशन गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकार, प्रहरी प्रशासनले काम गर्दा के कस्ता काम गरेको छ कहाँ चुकेको छ । हामीसँगै समन्वय गरेर अगाडी बढनुभयो भने हामी सुधार्न सकिन्छ उहाँले भन्नुभयो । उहाँले मानवअधिकारको सवालमा आफुहरु संवेदनशील भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीका प्रमुख हरिप्रसाद ज्ञवालीले हामीले मानव अधिकारको सवालमा देखिएका सवालहरुलाई सामुहिक सवालका रुपामा उठान गर्नुपर्ने बताउदै दिवा खाजाको वजेट र त्यसको प्रभावकारितामा पनि समस्या भएको बताउनुभयो । विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नभएका जस्ता समस्याहरु रहेको बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी वलका एसपी मेखराज जोशीले मानव अधिकारको सवालमा संवेदनशील भएको बताउदै आएका केही उजुरीहरुका विषयमा सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदिपबहादुर क्षेत्रीले इन्सेकमा आएका मुद्दाहरुमा प्रहरीसँग सम्बन्धित आएका मुद्दालाई सम्बन्धित निकायसँग समन्वय गरेर किन उजुरी नलिएको हो सो विषयमा बुझेर अभिलेख गर्न इन्सेकलाई सुझाव दिनुभयो । किसानले भारतबाट ल्याएको मलखाद प्रहरीले खोस्ने कुरा हँुदैन तर किसानको नाममा अरु कसैले गर्यो भने त्यसलाई मान्न सकिदैन एसपी क्षेत्रीले भन्नुभयो । प्रहरीले वडा र पालिकासँग समन्वय गरेर जग्गा प्राप्त जीर्ण रहेका प्रहरी चौकी र कार्यालयहरुको निर्माणको लागि सहकार्य गरेको बताउदै मानव अधिकारको सवालमा आफूहरु संवेदनशील भएको बताउनुभयो ।
कार्यक्रममा माइती नेपालका प्रमुख माया क्षेत्रीले महिला हिंसा राष्ट्रिय परिचयपत्रले दोहोरो सुविधा ल्याउनेहरुका लागि सहज हुने बताउनुभयो । इन्सेकले नागरिकताको समस्या भएकोले यस्ता सवालमा पनि अभिलेख गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका उपाध्यक्ष समिता मल्ल, आफन्त नेपाल रुपन्देही पदमा आचार्य शुभअवसरग्रामका सत्यनारायण यादवले जन्मदर्ता र नागरिकताको समस्या भएकोले यस्ता सवालको लागि इन्सेकले सहजीकरण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार एलिना आचार्यले इन्सेकले मर्यादित महिनावारीका सवालमा पनि काम गर्नुपर्ने बताउदै, हाम्रा विद्यालयका शौचालयहरु महिनावारीमैत्री छैनन् त्यसका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
