इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलिन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारे ०८२ असार १ जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा सम्पन्न गरिएको छ ।
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहले ०८१ पुस १६ गतेदेखि ०८२ असार १ गतेसम्मको अवधिमा जिल्लामा भएका ३३ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेखीकरण गरिएको जानकारी दिनुभयो । जसमध्ये बलात्कारका १०, बहुविवाहका पाँच, बालविवाह एक, आत्महत्या दुरुत्साहन एक र घरेलु हिंसाका १६ ओटा घटना रहेका छन् ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले जिल्लामा मानव अधिकारको यथार्थ चित्रण गर्न इन्सेकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । अघिल्ला वर्षहरू भन्दा यो वर्ष घरेलु हिंसाका घटनामा केही कमी आएको देखिएको भन्दै जिल्लाको मानव अधिकारको अवस्थाको सकारात्मक सन्देश जाने उहाँले बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले कानुनमा मात्रै कडाइ गर्दा सामाजिक कुरितीमा खासै प्रभाव नपर्ने भएकोले नागरिकहरुलाई कानुनी सचेतना र न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
अधिकारकर्मी संस्था र स्थानीय सरकारबीच समन्वय गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने उहाँले बतायनु भयो ।
जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले अपराध न्यूनीकरणका लागि समुदायमै पुगेर सचेतना फैलाउने अभियान जारी रहेको बताउनु भयो ।

मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा मानव अधिकार एलाइन्सका प्रतिनिधिहरू, बाल क्लबका प्रतिनिधी, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
