नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ का लागि सन् २०२४ मा रुकुम पुर्वमा अभिलेख गरिएका मानव अधिकारसम्बन्धी घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम २०८१ पुस ८ गते रुकुमकोटमा सम्पन्न भएको छ ।

मानव अधिकारकर्मी विनोद केसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख आतित्यमा भएको समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले रुकुम पूर्वमा सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म उल्लेख गरिएका मानव अधिकार सम्बन्धी घटनाहरू प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक तथ्याङ्क प्रस्तुत गर्दै प्रतिनिधिले एक वर्षमा रुकुम पुर्वमा विभिन्न १२ ओटा मानव अधिकार सम्बन्धी घटना भएको जानकारी दिनुभयो । जसमा आठ ओटा बलात्कार घटना र चार ओटा हत्याका घटना छन् ।
अस्पतालमा विश्वकै डाक्टरको दरबन्दी अनुसारको पदपूर्ति नभएको, विद्यालयमा विषयगत शिक्षकहरूको अभाव रहेको, भौतिक पूर्वाधार नहुँदा विभिन्न नागरिक सेवाहरूमा समस्या भएको, कारागार नहुँदा थुनुवा र न्याय सम्पादनमा समस्या भएको, वातावरणीय परिवर्तन देखिएको, ढोरपाटन आरक्ष्यका कारण किसानहरूको खाद्य सुरक्षा जोखिममा रहेको सहभागीहरूले बताएका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले इन्सेकले गरेको अभिलेख सत्य र तथ्य हुनुपर्ने बताउनु भयो । समस्यै समस्या मात्रै भएको भन्ने भन्दा पनि हिजोभन्दा आज मानव अधिकारका सवाल र परिपूर्तिमा धेरै सुधार आएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी माधवराज खरेलले वर्ष पुस्तकलाई तथ्यपरक बनाएर राज्यलाई नियमित झक्झकाउने काममा वर्ष पुस्तकले काम गरेको बताउनु भयो । कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले हिंसा पीडितहरूको पक्षमा स्थानीय सरकारले सेफ हाउस सञ्चालन गरेर काम अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुकुम पुर्वका अध्यक्ष वसन्त बाठा मगर, जिल्ला बार इकाइ रुकुम पश्चिमका सदस्य किरण गौतम, नेकपा एमालेका जिल्ला उपसचिव पशुपति खड्का, नेकपा माओवादी केन्द्रका जीवन केसी लगायतले मानव अधिकार वर्ष पुस्तकले यस क्षेत्रको मानव अधिकारको अवस्था उजागर गरेको भन्दै निरन्तर खबरदारी गर्न सुझाव दिनुभयो ।

