अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाले ०८१ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बगनासकाली गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले सन् २०२४ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका घटनाका बारेमा जानकारी गराउनुभयो ।
पाल्पामा एक वर्षको अवधिमा ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको उहाँले बताउनु भयो । ६ ओटा महिला अधिकार, आठ ओटा बाल अधिकार, एक ओटा कथित बोक्सी घटना, एक ओटा महिला हत्या र घरेलु हिंसाका घटना ४८ ओटा रहेको उहाँले बताउनु भयो ।
समीक्षा कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले नेपालको मानव अधिकार प्रवर्धनमा इन्सेकको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो ।
