नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ४ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सरोकारवालाबीच जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाको विषयमा छलफल तथा समीक्षा सम्पन्न भएको हो ।
सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म कञ्चनपुर जिल्लामा संकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँरले समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । जसमा घरेलु हिंसाका ३ सय, कुटपिटका तीन, बलात्कारका २१, हत्याका पाँच, बैवाहिक बलात्कारका पाँच, विष्फोटक पदार्थबाट घाइते एक र मानव बेचविखन तथा ओसारपसारका सात ओटा घटना रहेका छन् ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पृष्ठपोषण, सुझाव संकलन तथा पुनर्पुष्टि गर्ने उद्धेश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवररले बताउनु भयो ।

उच्च अदालत, कञ्चनपुरका अधिवक्ता उद्दवराज भट्टले लामो समयदेखि हिंसा पीडितहरुलाई निःशुल्क कानुनी सहायता गर्दै आइरहेको र आगामी दिनहरुमा पनि पीडितहरुको न्यायमा पहुँच पुगाउन इन्सेकसँग समन्वय र सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
मानव अधिकारका घटनाहरु दिनप्रतिदिन बढिरहेकोेमा चिन्ता ब्यक्त गर्दै विद्यालयको पाठयक्रममा यौन शिक्षालाई समावेश गरिनु पर्ने मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापाले बताउनु भयो
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर जमुना जोशीले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
पीडितको न्यायका लागि कार्यरत संघसस्था तथा व्यक्तिहरुले पीडितहरुको गोपनियता र संवेदनशिलतामा पनि विशेष ध्यान दिनु पर्ने र नागरिक समाज तथा संघसस्थाहरुसँग समन्वय र सहकार्य गर्दै मानव अधिकारको संरक्षण र सम्बर्धनमा काम गर्न प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।
गैसस महासंघ, कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले इन्सेकले मानव अधिकारको संरक्षण र संम्बर्धन गर्ने कार्यमा महत्वपूण योगदान पुगाउदै आएको बताउँदै रोजगारीको अभावमा यूवाहरु विदेश पलायन हुने कारणले पनि हिंसाका घटनाहरुमा बृद्धि भइरहेकोले सरोकारवाला निकायले यस क्षेत्रमा सयुक्त रुपमा अभियान सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
माईती नेपालका संयोजक महेश्वरी भट्टले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले संकलन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिदै विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकिएको भए पनि सानो उमेरमै विवाह गर्ने परिपार्टीले महिलाहरु थप हिंसामा पर्ने गरेकोे बताउनु भयो ।

राजनीतिक हस्तक्षेपका कारण पीडित पक्षले न्याय पाउन नसकेको र स्थानीय तहलगायत प्रहरीमा पनि धेरै जस्तो घटनाहरु मिलापत्र गर्ने गरिएकोले पनि महिला हिंसाका घटनामा बृद्धि भएको उहाँको भनाइ छ ।
मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको साथी संस्थाका संयोजक उर्मिला शाहीले बताउनु भयो ।
कानुनको प्रभावकारी कार्यान्वयन, जवाफदेहिताको अभाव र नागरिक कर्तब्य र जवाफदेहिताको अभावमा मानव अधिकारको संरक्षण हुन नसकेको र हिंसामा परेका महिलाहरुका घटनाहरुलाई पनि इन्सेकले वर्ष पुस्तकमा समावेश गर्नु पर्ने ओसिएमसिका फोकल पर्सन भावना शर्माले बताउनु भयो ।
इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु संकलन गरी वार्षिक रुपमा मानव अधिकार वर्ष पुस्तक प्रकासन गर्दै आएको भए पनि आगामि दिनमा राहत, उद्दार तथा पुनस्र्थापनका कार्यहरुमा पनि काम गर्न आवश्यक रहेको सिएमसि नेपालका जानकी चन्दले सुझाव दिनु भयो ।