नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्री सेवा केन्द्र इन्सेक रुपन्देहीको आयोजनामा पुस २ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेकले एक वर्षमा गरेका घटनाहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । इन्सेक रुपन्देहीको विगत एक वर्षको अभिलेख अनुसार जिल्लामा अभिलेखिकरण भएका घटनाहरू जसमा बालबालिका सम्बन्धी बलात्कारका ४६ जना, यौन दुर्व्यवहारका १७ जना गरी जम्मा ६३ जना, महिला सम्बन्धी बलात्कार ३१ जना र बलात्कार प्रयास तीन जना, मानव बेचविखन तथा ओसार पसारका पाँच जना, पारिवारिक हत्या तीन जना, बालक हत्या परिवारिक एक जना, बहुविवाह तीन जना, बालविवाह तीन जना, आत्महत्या दुरुत्साहन एक जना, पारिवारिक हत्या तीन जना र घरेलु हिंसाबाट ६ सय ५९ जना पीडित रहेको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीले इन्सेकले लामो समयसम्मदेखि मानव अधिकारको संरक्षण, अभिलेखीकरण गर्दै आएको बताउँदै सरकारले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यानवयन गर्न नसक्नु दुखद भएको बताउनु भयो । उहाँले मानव अधिकारको संस्कृतिको विकासका लागि राजनीतिक दलहरू संवेदनशिल भएर लाग्नुपर्ने भन्दै मानव अधिकारका निम्ति राजनीतिक दलहरूले मानव अधिकारका निम्ति समय निकाल्न आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी वल सीमा डिएसपी मनोज गुरुङ्गले प्रहरी मानवअधिकार संरक्षणको भएकोले मानवअधिकारको संरक्षणका संवेदनशिल भएको बताउँदै मानव अधिकारमा शून्य सहिष्णुता अपनाएर काम गरिरहेको बताउनु भयो ।
नेपाल उच्चबार एशोशिएसन बुटवलका कोषाध्यक्ष निरञ्जना पौडेलले नेपाल एशोशियसनले विभिन्न खालका निःशुल्क कानुनी सेवा दिने गरेको बताउँदै त्यस्तै निःशुल्क न्यायमा पहुँच पुर्याउनका लागि प्रयाय गरिरहेको उल्लेख गर्नुभयो । यहाँले यस्ता विषयमा पनि समेट्न इन्सेकलाई आग्रह गर्नुभयो ।
