INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकार संरक्षण सञ्जालको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे आयोजनामा रामेछाप जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म प्रलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ असार १४ गते सम्पन्न भएको छ ।

Photo20240629 Ramechhap-01

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले इन्सेकले ६ महिनामा संकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा जानकारी गराउनु भएको थियो । इन्सेकले यस अवधिमा १४ ओटा घटना सङ्कलन गरेको र त्यसमा अधिकांश बलात्कारका घटना भएको उहाँले बताउनुभयो ।

यस बाहेक सुत्केरी हुन नसकेर महिलाले ज्यान गुमाउनु परेका घटना, आर्थिक, सामाजिक अधिकारका घटना पनि यस अवधिमा प्रलेखीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधीवक्ता भीमप्रसाद भुर्तेलले फष्ट जेनेरेसनको अधिकारको विषयमा धेरै कुरा हुने भए पनि अन्य अधिकारका विषयमा कम कुरा हुने गरेको बताउनुभयो । त्यस्तै मानव अधिकार उल्लङ्घनका घटनामा साक्षीको सुरक्षाका विषयमा पनि त्यतिकै गम्भीर हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्यले सबैका अधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

Photo20240629 Ramechhap

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर कौशल न्यौपानेले जिल्लामा ६ महिनाको अवधिमा २० जना महिला तथा बालबालिका हराएको सूचना प्रहरीमा दर्ता भएको बताउनुभयो । उहाँले यस अवधिमा १७ जना महिला हराएकामा १२ जना महिला फेला परेको बताउनुभयो । त्यसैगरी दुई जना बालिका हराएकोमा एक जना फेला परेको र एक जना अझै हराइरहेको बताउनुभयो । यो अवधिमा एक जना बालक हराएकोमा फेला परिसकेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।

यस ६ महिनाको अवधिमा रामेछाप जिल्लामा नौ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाबाट तीन ओटा, रामेछाप नगरपालिकाबाट दुई ओटा, गोकुलगंगा गाउँपालिकाबाट एक ओटा, उमाकुण्ड गाउँपालिकाबाट दुई ओटा र खाँडादेवी गाउँपालिकाबाट एक ओटा घरेलु हिंसा सम्बन्धी उजुरी प्रहरीमा आएका छन् ।

यसैगरी बलात्कारका घटना पनि जिल्लामा निक्कै रहेका बताउनुभयो । साना बालिका समेत बलात्कारको सिकार भएको भन्दै उहाँले यो विषय चुनौतीको विषय भएको धारणा राख्नुभयो । बालश्रमको प्रयोग, मानव बेचबिखनका घटनाका बारेमा पनि संवेदनशील हुनुपर्ने न्यौपानेले बताउनुभयो ।

अन्य

भिडियो