नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व रुपन्देहीमा अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार १३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका ३ सय ४२ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जसमा बालबालिका सम्बन्धी बलात्कारका २४ ओटा, यौन दुर्व्यवहारका आठ ओटा, महिला सम्बन्धी बलात्कार १३ ओटा र बलात्कार प्रयास तीन ओटा रहेका छन् । मानव बेचबिखन तथा ओसार पसारका चार ओटा, हत्या तीन ओटा, बालक यौन दुर्व्यवहार एक ओटा, बहुविवाह दुई जना, आत्महत्या दुरुत्साहन दुई जना र घरेलु हिंसाबाट २ सय ८२ जना पीडित रहेको इन्सेकले अभिलेख गरेको छ ।
इन्सेक रुपन्देहीले माथि उल्लेखित घटना बाहेक जिल्लामा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने नाममा हैरानी खेपेको, वैदेशिक रोजगारीमा समस्या, सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति तथा माहिला र बालिकामाथि सम्मानित र मर्यादित व्यवहार नभएको, किसानले समयमा मलखाद र वीउ नपाएको जस्ता समस्याहरू भएको, पछिल्लो समय साइवर क्राइमका घटनाहरू समेत बढ्न थालेको जनाएको छ ।
समीक्षा कार्यक्रममा मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले मानव अधिकारको संरक्षण, प्रवर्धन गरी पीडितलाई न्यायमा पहुँच पुर्याउनका लागि प्रहरीले संवेदनशिल भएर अगाडि बढेको बताउँदै प्रहरी अग्रह पङ्क्तिको रक्षक भएकोले मानव अधिकारप्रति गम्भीर रहेको बताउनु भयो ।
अधिवक्ता हेमा न्यौपानेले मानव अधिकारको क्षेत्रमा इन्सेकको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई हैरानी व्यहोर्नु परेकोले त्यस्ता विषयमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनु भयो ।



