अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि दाङमा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १ गते घोराहीमा सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि जनवरी १, २०१८ देखि नोभेम्वरसम्म अभिलेख गरिएका घटनाको वार्षिक पूर्व समीक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि जेएन सागरले पेश गरेको प्रतिवेदनका अनुसार दाङमा यो वर्ष ५१ बलात्कारका घटना, ५१ कुटपिटका घटना, ७ ओटा हत्याका घटना भएका छन् ।
यसैगरी कथित बोक्सीको आरोपमा दुर्व्यवहारका घटना तीन ओटा र तीन ओटा घटना कथित छुवाछुतका छन् ।
यसैगरी अपहेलनाका आठ, गैरकानुनी हिरासतका पाँच, हिरासतमा यातानाका दुई ओटा घटना भएका छन् । यसैगरी तीन ओटा तोडफोडका घटना भएका छन् भने ६ ओटा घटना दुर्व्यवहारका छन् । यसैगरी ११ पटक बन्द/हडताल भए भने कुल १ सय ५१ घटनामा १ सय ७० जना मानिस पीडित भएको पाइएको छ ।
जसमा २९ पुरूष, १ सय ४१ महिला पीडित भएका छन् । ती मध्ये ४४ बालिका र ९७ जना महिला पीडित भएको पाइएको छ । यो वर्ष सबैभन्दा धेरै १ सय ४१ घटना गैरराज्य पक्षबाट भए भने १० ओटा घटना राज्यपक्षबाट भएका छन ।
यो वर्ष कुल ५१ बलात्कारका घटनामा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका ४२ घटना भएका छन् । जसमा ४४ जना बालिका पीडित भएका छन् ।
बालिका बलात्कारका ४२ घटनामा ३ देखि १० वर्षसम्मका १२ जना, ११ देखि १४ वर्षसम्मका १७ जना र १५ देखि १८ वर्ष उमेर समूहका १३ जना बालिका पीडित भएका छन् ।
जसमा हाडनातामा बलात्कारका आठ ओटा घटना भए । यो वर्ष ३, ४, ५, ६ वर्षका बालिका बलात्कारमा परे भने बलात्कारका घटनामा ५१, ५५ र ६९ वर्षसम्मका बृद्धा संलग्न भएको इन्सेकले जनाएको छ ।
यो वर्ष सबैभन्दा धेरै १४ वर्षका बालिका ११ जना बलात्कृत भएका छन् । सो अवसरमा बोल्दै सरोकारवालाहरूले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई थप विश्वसनीय बनाउन सत्यतथ्य सूचना सङ्कलनमा जोड दिनुपर्ने बताए ।
मानव अधिकार अवस्थाको ऐनाको रूपमा वर्ष पुस्तक रहेको भन्दै यसकै आधारमा सरकारले योजना बनाउनुपर्नेमा जोड दिए ।
जिल्ला न्यायाधीश हेमन्त रावलले वर्ष पुस्तकको महत्व अन्तर्राष्ट्रियस्तरमा पनि उत्तिकै रहेको भन्दै पुस्तकको विश्वसनीयता गुम्न नदिन सत्यतथ्यलाई निरन्तरता दिन सुझाव दिए ।
कानुनको पालना नगरिएका कतिपय घटना मानव अधिकार उल्लङ्घन जस्तो देखिएपनि ति अपराधजन्य घटना भन्दै न्यायाधीश रावलले वर्ष पुस्तकलाई थप प्रभावकारी बनाउन परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।
उनले वर्ष पुस्तक मानव अधिकारको आधिकारिक दस्तावेज भन्दै इन्सेकले ‘वाचडग’को काम गरेको बताए ।
जेएन सागर