नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि अभिलेखित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम कात्तिक ३० गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले वर्ष पुस्तकका लागि सन् २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका १ सय २० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए ।
हालसम्म कञ्चनपुर जिल्लामा ४५ ओटा घरेलु हिंसा, आठ ओटा हत्या, २१ जना घाइते, १२ ओटा बलात्कार, दुई ओटा जातीय विभेद, दुई ओटा मानव बेचबिखन, तीन ओटा यातना र १९ ओटा सम्पति क्षतिसहित १ सय २० ओटा घटना अभिलेख गरिएको इन्सेक प्रतिनिधि भाटले बताए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्नका लागि सरकारले छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने बताए । यसका साथै इन्सेकले मानव अधिकार संरक्षणमा मार्गदर्शकको रूपमा काम गरेको बताए ।
जिल्ला समन्वय अधिकारी नारायणप्रसाद पाण्डेयले मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मानव अधिकार उल्लङ्घनका घटनाहरूमा संलग्नहरूलाई खबरदारी गर्नुका साथै मानव अधिकार शिक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम गर्न आग्रह गरेका छन् ।
नागरिक समाज कञ्चनपुरकी सहसंयोजक पुनमसिंह चन्दले स्थानीय तहसम्म गएर मानव अधिकार उल्लङ्घनका घटनाहरूमा सङ्कलन गर्न इन्सेकलाई सुझाव दिएकी छन् ।
कोमलनिरन्जन भाट