इन्सेकले प्रकाशित गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पूर्वसमीक्षा कार्यक्रम ०७७ मङसिर २५ गते जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेकले २०२१ को लागि लागि सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको बारेमा जिल्ला प्रतिनिधि नबराज पथिकले जानकारी गराउनुभएको थियो । जिल्लामा यस वर्ष सबैभन्द बढी बलात्कारका घटना अभिलेख भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले प्रविधिको दुरुपयोग र वैदेशिक रोजगारीले हिंसाका घटना बढ्दै गएको बताउनुभयो । उहाँले समाजमा हुने सबै खालका हिंसा न्युनिकरण गरी मानव अधिकारको संरक्षणमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले मानव अधिकार संरक्षणमा सबैको समान दायित्व हुने बताउनुभयो ।
मन्थली नगरपालिका उपप्रमुख मायाकुमार कार्कीले नगरपालिकाभित्र हुने लैङ्गिक हिंसा न्यूनिकरण र मानव अधिकारको संरक्षणको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
यसै गरी, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले रामेछापमा बलात्कारका घटना पहिलेका वर्ष भन्दा बढेको बताउनुभयो ।
जिल्ला न्याधिवक्ता यदुनाथ शर्माले मानव अधिकार उल्लङ्घनका घटना बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले इन्सेकको वर्ष पुस्तकले कतिपय उठाउनै पर्ने विषय छुटाएको र नउठाउँदा पनि हुने विषयलाई भने प्राथमिकता दिएको समेत उल्लेख गर्नु भयो ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईँको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतमा कार्यक्रम आयोजना गरिएको थियो ।