अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते मुगुको सदरमुकाममा सम्पन्न भएको छ ।
कार्यक्रममा सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरिएका २९ ओटा घटनाको समीक्षा गरिएको थियो ।
इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालले जिल्लामा सङ्कलन गरेका घटनाहरूको विवरण कार्यक्रममा उपस्थित सहभागीमाझ राख्नुभएको थियो ।
सङ्कलन गरिएका घटना मध्ये नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी नौ ओटा, महिला अधिकार सम्बन्धी १० ओटा र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी आठओटा घटना रहेको जिल्ला प्रतिनिधि सेजुवालले बताउनुभयो ।
कार्यक्रममा मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकार मानव अधिकारको संरक्षक भएकाले आफना देशका हरेक नागरिकलाई प्रदान गर्नुपर्ने अधिकारले पुर्णता नपाएमा त्यसको खबरदारी मानव अधिकार वर्ष पुस्तकले गर्ने बताउनुभयो ।
जिल्लामा महिला अधिकार सम्बन्धित घटना धेरै घट्ने गरेको बताउँदै जिल्ला समन्वय समिति मुगुका कार्यवहक संयोजक कर्णशिला मल्लले इन्सेकलगायत सङ्घसंस्थाले घटना सङ्कलनसँगै ग्रामीण स्तरमा जनचेतना जगाउने कार्यक्रम पनि गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रत्रकार महासङ्घ, मुगुका कार्यवाहक अध्यक्ष दान बुढाले वर्ष पुस्तकमा राज्य तथा गैर राज्य र अन्य समूहबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रकाशन गर्दै इन्सेकले राज्यलाई मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि दबाब सिर्जना गर्दै आएको बताउनुभयो । त्यसैले यसमा सत्यतथ्य घट्ना मात्र समेटिनु पर्ने बताउनु भयो ।


