नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम म्याङलुङमा असार २४ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा भएको समीक्षामा सन् २०१९ जनवरी १ देखि जुनसम्म ६ महिनाको अवधिमा इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई इन्सेक प्रतिनिधि भगिश्वर लिम्वूले सार्वजनिक गरेका छन् ।
६ महिनाको अवधिमा तेहृथुममा सबैभन्दा बढी महिला र बालबालिका अधिकारबाट वञ्चित भएका छन् । इन्सेक अभिलेखका आधारमा ६ महिनाको अवधिमा जिल्लामा हत्याको घटना एक, कुटपिटको घटना एक, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटना ६ ओटा, घरेलु हिंसाका दुई ओटा घटना छन् ।

सरकारले ०७५ फागुन २८ मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि राज्य पक्षबाट गिरफ्तारीसहित जिल्लामा १२ ओटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुङ्गानाले इन्सेकले अभिलेख गरी सार्वजनिक गर्ने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाले जिल्लाको मानव अधिकारको अवस्था देखाउने भएकाले यसले राज्यलाई मद्दत पुगेको बताए । उनले मानव गरिमा रक्षाका लागि इन्सेक अभियानले राज्यले गर्न नसकेको काम गरेको बताए ।
जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीले इन्सेक अभियान र इन्सेक अभिलेखीकरणले कतिपय अवस्थामा न्याय सम्पादनमा सहयोग गरेको बताए । उनले इन्सेकको तथ्याङ्क सही हुने भएकाले आगामी दिनमा पनि इन्सेकले आफ्नो साख जोगाउनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जिल्लामा अझै पनि महिला र बालबालिका सुरक्षित हुन नसक्नुले समाजमा महिला र बालबालिकाको अवस्था सुधारका लागि सबैले सहयोग गर्नुपर्ने बताइन् ।
उनले छोरी मान्छे भएकै कारण स्वतन्त्र रूपमा हिँड्डुल गर्ने वातावरण नभएसम्म्म महिला र बालबालिकाको अधिकार रक्षाका लागि सबैको साझा प्रयास आवश्यक रहने बताइन् ।