INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार २१ गते वीरगंजमा मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

६ महिनाको अवधिमा पर्सामा बहुविवाहका चार, यौन दुर्व्यवहारको एक, हत्याका ६, बलात्कारका १७, अपहरण तथा शरीरबन्धकका चार, बेचबिखनसम्बन्धी तीन, गर्भपतन दुई समेत ३९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको जिल्ला प्रतिनिधि केसी लामिछानेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले मानव अधिकारको बहालीका लागि राज्यका संयन्त्रहरू संवेदनशील हुनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आफ्नो दायित्व पुरा गर्नु पर्नेमा जोड दिए । उनले दायित्व पुरा जाहाँबाट गरिन्छ त्यहीँबाट अधिकारको सृजना भएर त्यो आपूर्ति समेत हुने बताए ।

उनले अपराधिको मनोबल बढ्न दिन नहुने भन्दै कतिपय कुरामा प्रशासनिक संयन्त्रमा पनि सुधार ल्याउनु पर्ने खाचो औँल्याए ।

उनले अपराधिक घटनाहरू मेलमिलापको नाममा टुङ्गोमा पुग्न नहुने भन्दै नागरिक समाजले यस्तो विषयमा निगरानी राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले इन्सकेले अभिलेखिकरण गरेको भन्दा बढी घटनाहरू समाजमा रहेको चर्चा गरे ।

महिलाको प्रयोग गरेर प्रतिशोध लिने गरी बलात्कारको आरोप लगाउने घटनाहरू पनि प्रकाशमा आएको चर्चा गर्दै नेपाल बार एशोसिएशन पर्साका पूर्व सचिव हरेराम सर्राफले प्रहरीलाई सम्वेदनशील भएर अनुसुन्धान गर्न आग्रह गरे ।

अधिवक्ता एवम् नेपाल मानव अधिकार सङ्गठन पर्साका पूर्व अध्यक्ष कमलमोहन पोख्रेलले कर्मचारी तन्त्र मानव अधिकारप्रति अनुदार रहेको आरोप लगाए ।

उनले बलात्कारजन्य अपराधमा आजको पुस्ता निर्दोष हुँदा हुँदै पनि जेल बस्नु पर्ने अवस्था देखिएको प्रति चिन्ता व्यक्त गरे । उनले अनुसन्धानको कामलाई पनि जबाफदेहीपूर्ण बनाउनु पर्नेमा जोड दिए ।

photo20190706parsa (1)

photo20190706parsa (2)

photo20190706parsa (3)

अन्य

भिडियो