नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम दिक्तेलमा असार १६ गते सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रामधन राईले सन् २०१९ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथाज्यादतीका घटनाहरूको समीक्षा गरिएको छ ।
मानव अधिकार उल्लङ्घनका घटनाहरूको प्रतिवेदनमा रहने सम्भावित त्रुटीहरू सच्याउन र छुटेका घटनाहरू अभिलेख तथा अद्यावधिक गर्न समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्लामा सङ्कलित २० ओटा घटनामा २० जना नै पीडित बनेको उल्लेख छ । पीडितमध्ये सात जना बालिका र १० जना महिला रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी बलात्कारका घटना सङ्कलन गरिएको छ । बालिका चार र महिला दुई गरी ६ जनामाथि बलात्कार भएको अभिलेख छ । त्यसैगरी तीन जना बालिका यौन दुर्व्यवहारबाट र पाँच जना महिला बलात्कार प्रयासका घटनाबाट पीडित भएका छन् ।
दुई जनाको हत्या, दुई जनालाई कुटपिट गरी घाइते बनाएको र एक जनालाई हत्याको प्रयास गरिएको घटना अभिलेख छ । यस अवधिमा बहुविवाहको एउटा घटना सङ्कलन गरिएको राईले बताए ।
इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरू उजागार तथा अभिलेख गरी त्यस्ता घटना रोक्ने भूमिका निर्वाह गरेको सहभागीले बताएका छन् ।
इन्सेकले घटना सङ्कलन तथा अभिलेख मात्र नगरी सचेतना विस्तारमा समेत भूमिका खेल्नुपर्ने सहभागीहरूको सुझाव छ ।


