नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा संकलन गरिएका घटनाहरुमाथि असार २३ गते अर्धवार्षािक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संकलन गरिएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले इन्सेकले सार्वजनिक गर्ने तथ्यांकहरु सकेसम्म कमी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले जिल्लामा अपराधका घटना बढ्नुले जिल्लामा सुरक्षा चुनौती थपिएको र नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको बताउनु भयो ।
म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी पौडेलले स्थानीयतहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको भए पनि अधिकांश मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा जाने भएकाले न्यायिक समितिमा उजुरी कम आउने गरेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी तेह्थुमका सभापति श्रीकृष्ण दाहालले इन्सेकले जिल्लामा भएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि समयसमयमा समीक्षा आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा इन्सेक प्रतिनिधिको पहलमा म्याङलुङ नगरपालिका—९ साब्लाकी २३ वर्षीया मृगौला रोगी राजकुमारी लिम्बूलाई २ लाख ७० हजार रुपियाँ हस्तान्तरण गरिएको छ ।
इन्सेक प्रतिनिधिले आर्थिक अवस्था कमजोर हुनु भएकी राजकुमारीको स्वास्थ्य अधिकार रक्षा गर्न विभिन्न संघसंस्थासँग समन्वय गरी संकलन गरेको रकम उपचारका लागि प्रदान गरिएको हो ।
समीक्षामा जिल्लामा ०७७ पुस १७ गतेदेखि ०७८ असार १७ गते सम्म अभिलेखीकरण गरिएका घटनामा हत्या चार ओटा, बलात्कारका घटना दुई ओटा र बहुबिबाहका घटना गरी सात ओटा घटना सार्वजनिक गरिएको छ ।
