अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा दुई दिने नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को वार्षिक सम्पादन भेला पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ ।

प्रदेश नम्बर २ र ३ का इन्सेक प्रतिनिधिहरूको सहभागिता रहेको भेलामा प्रत्येक जिल्लामा सन् २०१७ मा अभिलेख गरिएका घटना सम्पादन गरिन्छ ।
भेलामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विवादरहित ढङ्गले तथ्यपरक रूपमा सङ्कलित घटनाहरूको अभिलेख र सम्पादन गर्न सुझाए । उनले इन्सेकका जिल्ला प्रतिनिधिहरूलाई वर्षमा प्राथमिकरण गर्नुपर्ने र समेट्नुपर्ने कुनै पनि घटना नछुटोस् भन्नेमा सजगता अपनाउन आग्रह गरे ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, विकासको अधिकार र नियमित रूपमा सङ्कलन र अभिलेखिकरण गर्दै आएका विषयलाई छुटाउन नहुने बताए ।
भेलामा इन्सेक केन्द्रीय कार्यालय प्रलेख शाखाका गोविन्द त्रिपाठी, इन्सेक क्षेत्रीय कार्यालयका गणेश भण्डारी, राजु पासवानलगायत १९ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
भेलामा सहभागि जिल्लाका प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तकका लागि जिल्लाको प्रतिवेदन तयार गर्नुका साथै सन् २०१७ को मानव अधिकार अवस्थाको विश्लेषण गर्नेछन् ।
भोजराज तिमल्सिना