INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय सरकार सहकार्य गरेर अघि बढ्नु भन्दा अन्य विकल्प नै नभएको बताएका छन् ।

युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र इन्सेकको सहजिकरण र मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा मा सञ्चालित नागरिक समाजः पारस्पारिक जबाफदेहीता परियोजना अन्तर्गत माघ ४ गते मन्थलीमा गरिएको नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यको अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै खड्काले नागरिक समाज र स्थानीय सरकार एक आपसमा पक्षप्रतिपक्ष नभई सहयोगीको हिसावले अघि बढ्नु पर्ने बताए । उनले अनावश्यक रूपमा आरोप प्रत्यारोप तथा कसैलाई रङ लगाउने कुरा गलत भएको बताए ।

गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष भूवन श्रेष्ठले स्थानीय सरकार जनशक्ति नभएर अल्मलिएको अवस्थामा सरकारले चाहेको जस्तोसुकै खालको जनशक्ति दिन नागरिक संस्था तयार र सक्षम रहेको बताए ।

नेपाल बार एसोशिएशन रामेछापका अध्यक्ष बिचारसिंह तामाङले सबैले विधिको शासनलाई टेकेर अघि बढे सम्बन्ध आफैँ सुधार भएर जाने बताए ।

नेपाल पत्रकार महासङ्घ रामेछापका सचिव नवराज श्रेष्ठले अहिले सरकार र पत्रकार तलदेखि माथिसम्म नै पक्षप्रतिपक्ष जस्तो देखिएकोले सो खाडललाई पुरेर अघि बढ्नु पर्ने बताए ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक अधिवक्ता पाण्डव प्रसाईँले नागरिक समाज र स्थनीय सरकार बीचको सहकार्यको अवसर र चुनौति विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका धेरै सम्भावना रहे पनि त्यसमा केही चुनौति रहेकाले त्यसलाई घटाउँदै लैजानु पर्ने उल्लेख छ ।

नवराज पथिक

अन्य

भिडियो