सरकारले परिकल्पना गरेको सुखी र समृद्धि नेपालको अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकारबिचको सहकार्यको आवश्यकताका सरोकारवालाहरूले जोड दिएका छन् ।
भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असोज ७ गते आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा पूर्व उद्योग मन्त्री एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अहिले राज्यलाई एकदमै बलियो र शसक्त बनाउने बेला आएको बताए ।
उनले भने–‘देशलाई कमजोर बनाउन केही देशी र विदेशी शक्तिहरू सक्रिय छन् । त्यसलाई केही मिडियाले साथ दिइरहेका छन् । नागरिकमा भ्रम फैल्याएर फेरि अशान्ति फैलाउन केही तत्व सक्रिय छन् । यस्तो बेलामा राज्यलाई एकदमै बलियो र शसक्त बनाउनु पर्छ ।’
बस्नेतले जनताले आफ्नो माग सहज ढङ्गले पुर्याउने स्थानीय सरकार नै भएकाले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा जस्तोसुकै चुनौतीलाई पनि अवसरका रूपमा लैजान सकिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले जिल्ला समन्वय समितिलाई भूमिकाविहीन बनाउँदा स्थानीय सरकारहरू बिच समन्वयमा कठिनाई आएको बताउँदै स्थानीय सरकारले जिल्ला समन्वय समितिलाई टेर्न समेत छाडेको गुनासो गरिन् ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जूना बस्नेतले सूर्यविनायक नगरपालिकाले नागरिक समाजको सहभागितामा ऐन नियम बनाएर कार्यान्वयनमा ल्याएको बताउँदै विकासमा समेत नागरिक समाजको सहभागिता गराएको जानकारी दिइन् ।

सविना केसी