
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानवअधिकार समूहले इन्सेकको परियोजना मूल्याङ्कन कार्ययोजना निर्माण बैठक ०८१ कात्तिक २९ गते सम्पन्न गरेको छ ।
बैठकमा इन्सेकद्वारा नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत विगतमा भएका उपलब्धि, समस्या, स्थानीयवासीको समन्वय र सहकार्य तथा आगामी महिनाको योजना विषयमा छलफल भएको छ ।
बैठकमा नगर प्रमुख राम लखन मलाहाले मानव अधिकार समूहका गतिविधिले न्यायबाट वञ्चित नागरिकहरू न्यायको पहुँचसम्म पुग्ने वातावरण बनेको बताउनु भयो । नगर प्रमुख मलाहाका अनुसार कतिपय समस्या नगरपालिकामा आउनु अगावै समूहले अनुगमन गरी वास्तविक तथ्य र समाधानका उपाय ल्याउनाले व्यवस्थापन गर्न सहज हुने गरेको छ ।
समूहको पहलमा नागरिकता बन्नाले असहाय एकल बृद्ध महिलाले सामाजिक सुरक्षा भत्ता पाउन थालेको, विद्यालयहरूको अनुगमन गरी ध्यानाकर्षण गर्नाले विद्यालय व्यवस्थापन समिति गठन भई शैक्षिक अवस्थामा सुधार आएको नगर प्रमुख मलाहाले बताउनु भयो । बृक्षारोपण, सडक नाटक, लैङगिक हिंसा विरुद्धका कार्यक्रम सञ्चालनले वातावरणको महत्व र मानव अधिकारको सचेतना बढेको उहाँले बताउनु भयो ।
समूहका अध्यक्ष मण्डलले अधिकारबाट वञ्चित नागरिकलाई न्यायको वातावरण सृजना गर्न र नगरपालिकालाई हिंसा मुक्त बनाउन समूहको भूमिका रहेको बताउनु भयो ।
नगरपालिका सदस्य, न्यायिक समितिका सदस्य, वडा सदस्य र हरेक वडाका सामाजिक क्षेत्रमा कार्यरत व्यक्तिहरू मिलेर समूह निर्माण भएको समूहकी उपाध्यक्ष अनुदेबी चौधरीले बताउनु भयो । समूहका सदस्य दिनेश खंग मण्डलले कानून सम्बन्धी सहयोग र सहकार्य स्थानीयबाट भइरहेको तर राजनीतिक दवाव, सामाजिक परिस्थिती, आर्थिक कमजोरीका कारण समस्याहरू भोग्नु परेको बताउनु भयो । उहाँले समूहलाई सशक्त बनाउने उद्देश्यले नगरपालिकाबाट ५ लाख रुपियाँको बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
समूहले आगामी महिनामा जन्मदर्ता अभियान, सरसफाई कार्यक्रम र पहिचान गरिएका समस्या समाधानको पहल गरिने कोषाध्यक्षमुसा अन्सारीले बताउनु भयो ।
मनव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामा डाक्नेश्वरी नगरपालिकामा सम्पन्न बैठकमा नगर प्रमुख रामलखन मलाहा, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहनकुमार चौधरी, इन्सेक परियोजना मूल्याङ्कन तथा अनुगमनकर्ता सुरज आचार्य, नगरपालिका सदस्य सुनिता सरदार, समूहका पदाधिकारीहरू सहभागी रहनु भएको इन्सेक जिल्ला सहजकर्ता अजय परीयारले जानकारी दिनुभयो ।


