अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, मानव अधिकार रक्षकको सञ्जाल गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा पोखरामा आयोजित मानव अधिकार सचेतना कार्यक्रम ०८३ असार १३ गते पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित बहुउद्देश्यीय सामाजिक भवनमा सम्पन्न भएको छ ।

मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नितु गड्तौलाले प्रमुख अतिथिको रूपमा सहभागी भई ज्येष्ठ नागरिकको अधिकार, सम्मान तथा उत्तरदायित्वका विषयमा सहजीकरण गर्नुभएको थियो ।
गड्तौलाले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सहभागिता सुनिश्चित गर्न परिवार, समाज र राज्यको साझा दायित्व रहेको बताउँदै संविधान तथा कानुनले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्न समुदायस्तरमा यस्ता कार्यक्रम आवश्यक रहेको बताउदै उहाँले मानव अधिकार संरक्षणका लागि स्थानीय तह, नागरिक समाज र समुदायबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो साथै भण्डारीले ज्येष्ठ नागरिकको वर्तमान अवस्था तथा सरकार र स्थानीय तहले प्रदान गरेका व्यवस्था सम्बन्धमा प्रस्तुतिकरण गर्नुभयो ।
कार्यक्रमा भनाइ राख्दै मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका सल्लाहकार विष्णु बरालले वैदेशिक रोजगार, बसाइँसराइ तथा बदलिँदो सामाजिक परिवेशका कारण गाउँघरमा ज्येष्ठ नागरिक मात्र बस्नुपर्ने अवस्था बढ्दै गएको बताउनुभयो । बरालले ज्येष्ठ नागरिकको संरक्षण र हेरचाहमा परिवार र समाजको भूमिका अझ महत्वपूर्ण बन्दै गएको धारणा राख्नुभयो ।

कार्यक्रममा जागरुक नागरिक समाजका सह–सचिव माधव प्रसाद पौडेल, सक्नेरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका उपाध्यक्ष राममणी बराल, उज्ज्वल आमा समूहकी अध्यक्ष शारदा देवी बराल तथा लोक संस्कृति संरक्षण समितिका उपाध्यक्ष वसन्त बन्जरालगायतले ज्येष्ठ नागरिकका समस्या, सामाजिक उत्तरदायित्व र मानव अधिकारका विषयमा धारणा राख्नुभएको थियो ।
अन्तरक्रियाका क्रममा सहभागी ज्येष्ठ नागरिकहरूले वर्तमान समयमा आफूहरूले भोग्दै आएका विभिन्न सामाजिक, आर्थिक तथा पारिवारिक समस्याबारे धारणा राखेका थिए । उनीहरूले गरिब तथा विपन्न समुदायका ज्येष्ठ नागरिकले राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधामा सहज पहुँच पाउनुपर्ने र आवश्यकताका आधारमा आरक्षण तथा विशेष व्यवस्था गरिनुपर्ने माग गरेका थिए ।
सहभागीहरूले सन्तानहरूले बाबुआमाप्रतिको कर्तव्य र दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारी तथा बसाइँसराइका कारण धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको अवस्थाबाट गुज्रिनुपरेको उनीहरूको भनाइ थियो । केही सहभागीहरूले आफ्नो सम्पत्ति छोराछोरीको नाममा हस्तान्तरण गरिसकेपछि उचित हेरचाह र सम्मान नपाउने अवस्था बढ्दै गएको गुनासो गरेका थिए । ज्येष्ठ नागरिकप्रति परिवारका सदस्यको जिम्मेवारी कमजोर बन्दै गएको र उनीहरूको अनुभव, ज्ञान तथा योगदानको पर्याप्त कदर हुन नसकेको उनीहरूले बताएका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिकका अधिकार, सामाजिक सुरक्षा, पारिवारिक जिम्मेवारी तथा सम्मानजनक जीवनयापनका विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि परिवार, समुदाय, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । उनीहरूले ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई स्थानीय तहबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक, नागरिक समाज, आमा समूह, मानव अधिकार रक्षक, पत्रकार तथा स्थानीय समुदायका ८० जना भन्दा बढिको सहभागिता रहेको थियो