इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय बहस/सम्वाद कार्यक्रम जेठ २१ गते घोराहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै संरक्षक शिक्षकहरूले शैक्षिक सत्र सुरू भएको दुई महिना बित्नै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक आइनपुगेको, विद्यालयमा छात्रामैत्री शौचालयको निर्माण हुन नसकेको, शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या आएको बताएका थिए । उनीहरूले विद्यालयमा महिनावारी हुँदा छात्राहरूले कक्षा छोड्ने समस्या आएको भन्दै ‘प्याड’को व्यवस्था गर्न माग गरेका थिए । त्यसैगरी विद्यालयमा प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न पनि माग गरे ।
सो अवसरमा बोल्दै विद्यालय निरीक्षक विष्णुप्रसाद पन्थीले पाठ्यपुस्तकको समस्या देशव्यापी रहेको र छिटो छरिता पाठ्यपुस्तक उपलव्ध गराउन जिल्ला शिक्षा कार्यालयले समन्वय गरिरहेको बताए । उनले पाठ्यपुस्तकबिना शिक्षण सिकाई प्रक्रिया रोकिन नहुने भन्दै शिक्षकहरूलाई वैकल्पिक सामग्रीको उपयोग गरी पठनपाठन गर्न सुझाव समेत दिए ।
यसैगरी उनले प्राथमिक उपचारका सामग्री र प्याडको व्यवस्था गर्न कार्यालयमा बजेट नआउने भन्दै व्यवहारिक रूपमा मसलन्दको नाममा जाने रकमलाई सदुपयोग गर्न सुझाव दिएका थिए । उनले शैक्षिक सुधारका लागि शिक्षा कार्यालय आवश्यक सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए ।
जे.एन.सागर